बालुवाटार छोडदिन ।

Wednesday, November 28, 2012


"ए बाजे !"
एकाबिहानै नेपालमा निर्मित एक झन्डावाल गाडी राष्ट्रबैंक निरको एक अग्लो घर अगाडी रोकियो र सवार ब्यक्तिले भित्र बाटै चिच्यायो !
"ए बाजे !"
"यसरी बिहान बिहान बोलाँउदा नी नबोलेको देख्दा यो शहरको मान्छे कुम्भकर्ण बने भन्ने हामीलाई लाइराछ !"
घरबाट कुनै जवाफ न-आएसी सवार ब्यक्ती फतफताउदै गाडी बाट झर्यो ।
"कुम्भकर्णे पाराले मुलुक बन्दैन भन्ने हाम्लाई लाइराछ !"
"बाजे~~~~~ ए बाजे !"
कालोटोपी लगाएको त्यो मान्छेले फेरी चिच्यायो ।
"बाजे~~~~~~ए !"
भित्रको बाजेले सुनेन । बाहिरको उसले गेट धकाल्यो तर बन्द थियो । के गर्ने ? के गर्ने ?? भएर पर्खालतिर हेर्दै गर्दा उसले आफ्नै पुरानो डायलग संझियो - " चिप्लेकिरा जस्तो घस्रने होइन , भ्यागुता जस्तो उफ्रने । "

अब के चाइयो र ? दिमागमा बत्ती जो बल्नु थियो बलिहाल्यो । त्यसपछी " उफ्री भैरे ! नाघ पर्खाल ! भेट बाजे ! " भन्दै केटो पर्खालतिर अघी बढ्यो । एक त अली होचै पर्खाल अर्को त बालुवाटारको हावापानीले मोटाए पनि सिलिमै देखिने उसको ज्यान । दुवैको कम्बिनेसनले पर्खाल उतिसारो चुनौती बनेन । पहिलो फड्कोमै उ पर्खालको शिखरमा दाँया पाइलो पदार्पण गर्न सफल भयो । चुलिमा दाँया पाइलाको पदार्पण भएता पनि दाँया पाइला हावामै थियो । त्यसैले उ असन्तुलित भएर लड्न खोज्यो र घर पट्टी हाम्फालो । छप्ल्याङ्ग आवाज सहित पछारिदा उसले तिरिमिरी देख्यो । भएभरको कपडा धुन भनि बढेमानको बाटामा घोलेको सर्फ पानीमा चोपिएर केटो निथ्रुक्कै बनेछ । मरे नि भन्दै उ बुर्लुक्क उफ्रिए मात्र के थियो यत्रो भोटे कुकुरले झम्टिएर सातो पुरै उडाइदियो । होस हवास पुरै गुमेर उ करायो - " गुहार !"
" को  हो बिहान बिहान मेरो घरमा गुहार लाउने ?"
घरबेटी बा आग्लो लिएर बाहिर निस्किए ।
" म बाजे म ! "
हातले कोटको फेर निचोर्दै उसले भन्यो ।
" चोर हौ कि क्या हो ?"
घरपेटी बाले कड्किदै सोधे - " के खोज्न आयौ यहाँ ? "
"के~~~के~~के ~~~केरा हजुर ! केरा खोज्न आको म । "
उसले हड्बडाउदै भन्यो ।
" यहाँ केरा छ रे भन्ने सुन्याथेम । "
" हैन तिम्रो दिमाख खुस्कियो की क्या हो ? "
घरपेटी बाले भने ।
" केरा खोज्न त  बजार जानु बारीमा जानु घर तिर आएर पाईन्छ ? "
" ए सरि सरि डेरा खोज्न आको भन्न लाग्या केरा खोज्न खोज्न आको भनेछु !"
उसले सच्याउदै भन्यो ।
"टू लेट ! लेखेको देखेर आको । डेरा मिल्छ होला ? प्लिज मिलाईदिनोस न !"
त्यसपछी के के कुरा भयो कुन्नि उ प्रसन्न मुद्रामा बाहिर निस्क्यो । भोलि पल्ट अखबारमा आयो -"म बालुवाटार छोडदिन । "

(घटना र पात्र काल्पनिक हुन । कसैको जीवन कहीं कतै मिले मिले जस्तो लागेपनि मिलाम भनेर मिलाइएको छैन !)

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका