किन फिर्ता गर्ने ?

Thursday, October 28, 2010

एमाले वरिष्ठ नेता डा. के. पी. शर्मा ओलीले आफ्नो पि.एच.डि. फिर्ता नगर्ने भन्नु भा’छ । उहाँसँगै पि.एच.डि. प्राप्त गर्नु भएका फिल्मि दुनियाका हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमा याचना सहित आफुले पाएको नक्कली पि.एच.डि फिर्ता गर्नु भएता पनि वास्तविक हास्य नेता के.पी. डाक्टर सापले भने कुनै कालले छोड्ला आफुले पाएको नक्कली पि.एच.डि नछोड्ने सुर कस्नु भा’छ । उहाँले आफुले पाएको पि.एच.डि सक्कली भा’को समेत दावि गर्नु भा’छ ।
वास्तवमा के.पी. डाक्टर सापलाई पिएचडी फिर्ता गर्न वाध्यता नै छैन किन भने यो उहाँले पढेर लिनु भा’ पिएचडी हैन । यो त उहाँले परेर प्राप्त गर्नु भा’ पिएचडी हो । परेर प्राप्त गरेको उहाँको लकको कुरा हो । अनि किन फिर्ता गर्ने ? भाग्य फिर्ता गर्न के को कर छ र ? अर्काको भाग्य खोस्न पाइन्छ ? त्यसमाथि केपी डाक्टरसापले त्यो पिएचडी त्यतिकै पा’का हुन र – उहाँले नेपालको हास्य राजनीतिमा विशिष्ट योगदान दिएर दुनियालाई हँसाए वापत हास्य कलाकारहरुसँगै पाएका पो हुन त । फ्रीमा पा’का हुन र ?
यहाँ मात्र पढेर सित्तैमा पाएको पिएचडी त कसैले फिर्ता गर्दैनन् । यत्रो ठुला ठुला योगदान गरेर र पैसो तिरेर किनेको पिएचडी फिर्ता गर्न मिल्छ – यहाँ सक्कली र नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित धारणा नै गलत छ । अब पैसा तिरेर खरिद गरेका, भनसुन, सोर्सफोर्सबाट प्राप्त गरेको शैक्षिक योग्यता चाँही नक्कली रे । अब पैसै नतिरी पढेकै भरमा सित्तैमा पाएको शैक्षिक योग्यता चाही सक्कली हुने रे । यस्तो नि हुन्छ कतै – कही नभएको जात्रा भनेको यहि हैन त ? त्यसैले पिएचडी फिर्ता गर्नु पर्छ भने त्यही फगत पढेको भरमा पिएचडी प्राप्त गर्नेहरुले गरुन । राजनीतिमा यत्रो योगदान दिएर राष्ट्रलाई यो स्थितिमा पुर्‍याउन मद्दत गर्नु भए वापत पिएचडी प्राप्त गर्नु भएका ओली डाक्टर सापले किन फिर्ता गर्ने ?
अब आयो विश्वविद्यालय नक्कली हो रे भन्ने कुरा – ओली डाक्टर सापलाई पिएचडी दिने विश्वविद्यालय कसरी नक्कली भयो ? पढेकै भरमा सित्तैमा पिएचडी बाँढ्दै हिड्ने अरु विश्वविद्यालय चाही सक्कली हुने रे । पैसा लिएर शैक्षिक योग्यता प्रमाण पत्र बिक्री गर्ने विश्वविद्यालय चाही कसरी नक्कली ? विश्व विद्यालयको शैक्षिक योग्यता प्रमाण पत्र त्यति सस्तो छ ? जबकी पढेकै आधारमा सित्तैमा पाइयोस् । नक्कली त ति विश्वविद्यालय हुन जसले पढेकै आधारमा सित्तैमा शैक्षिक योग्यता प्रमाणपत्र बाँडेर युनिभर्सिटी ड्रि्रीलाई सस्तो बनाए कि कसो ओली डक्टर साप ? नक्कली त पढेकै आधारमा शैक्षिक योग्यता प्रमाणपत्र दिने विश्वविद्यालय पो त । थोडी तपाईलाई पिएचडी दिने जस्तो विश्वविद्यालय नक्कली हुन्छ । पिएचडी फिर्ता गर्न परे नक्कली विश्वविद्यालयबाट पिएचडी लिनेहरुले गरुन । उहाँ जस्तो सक्कली विश्वविद्यालयबाट पिएचडी पाएको व्यक्तिले किन फिर्ता गर्ने ?
अब कसैले प्वाक्क बिचमा सोध्लान- “नपढीकन पनि पिएचडी हुन्छ ? वाहियात । किन हुँदैन ? चुनावै नजिति प्रधानमन्त्री उछिट्याउन हुन्छ भने पढ्दै नपढी पिएचडी उछिट्याउन किन हुँदैन ।

नेतृत्वको योग्यता

गिर्जाउ स्वर्गे भएसी एकपटक आकाशै खसे जस्तो भा’थ्यो । जसले गर्दा सुजु दिज्यु र प्रचण्ड कामरेड मात्रै हैन झण्डै झण्डै पुरै मुलुक नै टुहुरो र अभिभावक विहिन भा’थ्यो । मुलुकमा एउटा विरक्त लाग्दो रिक्तता छाएको थियो । पछि त्यो रिक्तता विस्तारै पुरिन थाल्यो । तैपनि गिर्जाउले नेतृत्व गर्नु भएको पार्टी कांग्रेसमा चाही नेतृत्व कसले लेला भनेर खुब जिज्ञासा भइ रह्यो । जब मुलुक कै पुरानो पार्टी कांग्रेसमा सानो तिनो नेतृत्वले के काम गर्ला र ? अब ठुलै नेतृत्व दिन सक्ने त्यस्तो ठुलो मान्छे कहाँ पो जन्मेको होला र ?
गिर्जाउको निधन पछि आफु गिर्जाउको सच्चा उत्तराधिकारी भन्दै नेता त्रय देखा परे । कसैले भने मेरो स्वभाव ठ्याक्कै गिर्जाबाबुको छ त्यसैले नेतृत्व मैले गर्नु पर्छ । कसैले भने मेरो अनुहार ठ्याक्कै गिर्जाउको जस्तो त्यसै कुरा यता उति हुँदै होइन नेतृत्व त मैले पो गर्नु पर्छ त । ‘अ त्यस्तो भनेर कहाँ हुन्छ, म त गिर्जाउको कोइराला फेम्ली कै मान्छे, कुल खानदान र परम्परा अनुसार मैले पो गर्नु पर्छ त कांग्रेसको नेतृत्व त ।
भन्देखिनलाई ह्वा जस्तै सभापति मैले पनि चलाई सकेको, ह्वाले जस्तै प्रधानमन्त्री दुइ तिन पटक मैले पनि खाइसकेको ह्वासँग ठ्याक्कै स्वभाव त मेरो पो मिल्छ त फेरी सभापतिको दौरा सुरुवाल पनि सिलाई सकेको हुँदा फेरी सिलाई रहनु पनि परेन । भन्देखिनलाई नेतृत्व अरुले गर्ने त कुरै आएन नी । भन्नेहरु पनि निस्किए केही आफ्नो नाक र गिर्जाउको नाक ठ्याक्कै मिल्ने भन्न थाले । कोही आफ्नो दाँत र गिर्जाउको दाँत ठ्याक्कै मिल्ने भन्न थाले । कोही गिर्जाउको तालु र आफ्नो ठ्याक्कै उस्तै उस्तै भएको र सभापति आलु आफ्नै उर्भर तालुमा फलाउनु पर्छ भन्न थाले । यस्तै यस्तै तवरले नेतृत्व दावीका क्रममा कांग्रेसको महाधिवेशन भयो । नेतृत्वमा आउन भो सुसिल ।
सुसिल जी नेतृत्वमा आए पछि उहाँमा एक पछि अर्को योग्यता देखिदै गएका छन् । एक त उहाँ कोइराला फेम्लीका, पि पी र गिर्जाउका भाई सुजाताका काका । अर्को त देश युवाले हाक्नु पर्ने आवाज उठिरहेका बेला कपालदारी फुलेका, गाला चाउरिएका र दाँत फुक्लिएका जोसिला युवा नेता त्यो भन्दा ठुलो कुरा गिर्जाउ बेडमा सुती अक्सिजनको सिलिण्डर समातेर पार्टी देश चलाउनु हुन्थ्यो । सुसिलजी पनि सभापति भएकै थिएन अस्पताल पुग्नु भो र अक्सिजन सिलिण्डर समाउनु भो अब चै ढुक्क छ कि उहाँले पार्टी मज्जैले चलाउन हुन्छ ।

राष्ट्रवादी एकता

“अब गजप भयो”
सि एम कामरेडले मख्ख पर्दै भन्नु भयो
“एतिहासिक रुपान्तरण भयो यो”
“रुपान्तरण कस्को ?”
कार्यक्रम बिचमै प्रश्न उठ्यो
“माओवादीको कि आर के जि को ?”
सि एम कामरेडले प्रश्न तर्फध्यान दिनु भएन महान परिवर्तनको यस्तो ऐतिहासिक छलाङ मार्ने क्रममा यस्ता नाथे प्रश्नहरुमा अल्भिmनु आवश्यक पनि थिएन परिवर्तनका अगाडि प्रश्नहरु निम्छरा भए । प्रश्नका तगाराहरुले कामरेडलाई अल्झाउन सकेन । दुखि प्रश्न उत्तर नलिइ फिर्ता भयो ।
“यो विशिष्ठ प्रकृया हो”
सि एम कामरेडले भन्नु भयो
“यो प्रकृया गजपको छ”
थप्नु भो
“जहाँ बरफको टुक्रालाई आगोमा मिसाइन्छ हामीलाई विश्वास छ त्यो ठोस बरफ आगोको कोइलामा परिणत हुन्छ ।”
‘यो त अचम्म भयो यस्तो पनि हुन्छ कही -’
कसैले आशंका पोख्यो
‘बरफ पग्लेर कोइला निभ्न सक्ला तर बरफ कोइलामा परिणत हुन सक्दैन । पार्टी छिर्दैमा राजावादीहरु कसरी रातारात क्रान्तिकारी बन्न सक्छन् ? बरु पार्टीको क्रान्तिकारीता मै खतरा आउन सक्छ ।’
“चमत्कारमा सम्भव छ र बन्न सक्छन् ।”
सि एम कामरेडले भन्नु भयो
“हामीले र हाम्रो गौरवशाली पार्टी अघि देखि नै अब एउटा ठुलो चमत्कार हुन्छ भनिरहेको जुन स्थिति छ…..”
थप्नु भयो-
“त्यो स्थितिलाई नबुझेर चमत्कार माथि आशंका गर्नु र नपत्याउनु निश्चित रुपमा एक्काइसौ सताब्दीको जनवाद नबुझनु हो भन्ने हाम्रो ठम्याई छ ।”
“गुण चै के पाउनु भो राजावादीमा -”
कसैले बिचमै सोधि दियो- “क्रान्तिकारी बन्न सक्ने -”
“उहाँ हामीहरु जस्तै गल्ति गरेपछि आत्मआलोचना गर्न सक्नु हुन्छ ।”
सि एम कामरेडले भन्नु भयो- “एक्काइसौ सताब्दिका क्रान्तिकारीहरु आत्म आलोचना गर्ने खालका हुन्छन कामरेड आर के लाई नै हेनोस् न”
कामरेड आर के ले सहि थाप्नु भो र सि एम कामरेडले उहाँलाई माला लगाइदिनु भो !
यसले कस्तो चमत्कार गर्ला भनेर कार्यकर्ता अलमल्लमा परे ।

“पार्टीको अनुमती छैन ।”

“लाल सलाम कामरेड ।”
मर्निङ वाकमा निस्किएका एक चिर परिचित माओवादी नेतालाई मैले हात उठाएर अविवादन गरे । कामरेडले रोकिएर मलाई हेर्नु मात्र भयो । अभिवादन फर्काउनु भएन । मैले सोचे कामरेडले चिन्नु भएन मलाई । सायद बिर्सनु पनि त भयो होला । राजनीतिको यत्रो भाग दौड । त्यसमाथि प्रधानमन्त्री चुनावको यत्रो लाखा धुनी । मलाई बिर्सर्नु कुनै अनौठो कुरा भएन तैपनि त्यस्ता फरासिला कामरेड रोकिएर बोल्दै नबोली मलाई हेरी रहेका देखेर मलाई सोध्नै पर्ने भयो ।
“हैन कामरेड तपैले चिन्नु भएन अस्ति त्यत्रो वातचित गरेको मान्छे बिर्सनु भयो कि क्या हो -” उहाँ बोल्नु भएन बरु केही खोजे जसरी आफ्नो स्पोर्ट टाउजरको खल्ति छामछाम छुम छुम गर्न थाल्नु भयो र एकछिनमा रातो मार्कर पेन र सेतो पेपर झिक्नु भयो र लेखेर देखाउनु भो- “चिने किन नचिन्नु नी”, “अनि किन नबोल्नु भएको त -” मैले सोधे ।
“तपैसँग बोल्न पार्टीको अनुमति लिएको छैन” उहाँले लेखेर फेरी देखाउनु भयो ।
“अनि किन अभिवादन फर्काउनु भएन -”
“बिहानै हिडेको अभिवादन फर्काउन अनुमति लिनै विर्से” उहाँले लेखेरै देखाउनु भो ।
“अनि कता त -”
“कोटेश्वर” (लेखेरै)
“अनि सँगै जाउन त – म पनि त्यतै हो ।”
“हुन्न” उहाँले लेख्नु भयो “तपैसँग हिड्न पार्टीको अनुमति लिया छैन ।”

प्रधानमन्त्रीको सपना

धुरिमा झण्डा गाडेर दशैं मनाउने कामरेड चट्टान ज्यूको सपना सपनामै सिमित हुने सम्भावना बढ्दै गएको छ । तटस्थीय तपस्यामा चट्टान झै लिन बनेकै भरमा माओवादीको समेत धाप पाउन सफल भएता पनि रामचन्द्र बाजेले बाल नदिंदा धुरीमा झण्डा गाडेर दशैं मनाउने सपना हुरिमै उड्ने भएको छ । र आफ्ना उडिरहेको सपना हेर्दै कामरेड चट्टानज्यू अझै दृढ देखिनु भएको छ । सम्भावना हिन आसाहरुमा कामरेड चट्टानज्यूको यो दृढता देखेर दुनिया चकित बनेका छन् । दुनियालाई जतिसुकै अचम्म लागोस तर यसले के पो फरक पर्‍यो र ? आखिर कामरेड चट्टान न पर्नु भयो । दुनियाका यस्ता छुसि माइका लालहरुले अचम्म मान्दैमा यो महान तटस्थीय तपस्याबाट उहाँ जस्तो महान तपस्वी कसरी डगमगाउन सक्नु हुन्थ्यो ? बरु तटस्थासनमा बसेर ध्यान र योगको दैविक चमत्कारिय आवाजमा उहाँको निरन्तर मन्त्रोच्चारण जारी छ- ॐ तटस्थाय नमः
प्रधानमन्त्राय नमः
कुर्सीय नमः
समिकरणाय नमः
गठवन्दाय नमः
साम दाम दण्ड भेदाए नमः
तटस्थाए नमः
उहाँ भन्दै हुनु हुन्छ हामी चट्टान झै अडिग छौ हिमाल झै अटल छौ । आठौ पटक पनि प्रधानमन्त्री चयन प्रकृया तुहिए पछि प्रधान मन्त्री चयन प्रकृया माथि नै पुनर्विचार गर्नु पर्ने चर्चा चलिरहेको बेला कामरेड चट्टानले नयाँ सिस्टम विकास गरेका छन् । उहाँले विकास गर्नु भएको प्रधानमन्त्री छनौट प्रकृया साच्चै भन्नु पर्दा तर्कपूण् पनि रहेको छ । वास्तवमा कुनै पनि व्यक्ति कुनै पनि पदमा पुग्न त्याग र तपस्या अनिवार्य छ । त्यसमाथि प्रधानमन्त्री जस्तो मुलुकको गरीमामय पदमा पुग्नकोलागि त त्याग र तपस्या नभै नहुने कुरा हो । उहाँले बहुमत पुगेको आफ्नो सरकारलाई ढालेर, बहुमत पुग्दापुग्दै आफ्नो उमेदवारी फिर्ता लिएर त्याग देखाई सक्नु भा’छ । अनि प्रधानमन्त्रीको आसमा घुटुक्क घुटुक्क थुक मात्र निलेर तटस्थता रुपी कठोर तपस्या पनि गरिरहनु भएको छ । भोट दिएर प्रधानमन्त्री चुन्ने प्रकृया के प्रकृया । अर्काले भोट दिएर त जो पनि भै हाल्छ नी प्रधानमन्त्री । त्यसमा के रह्यो र हुने व्यक्तिको पौरख – त्यसैले प्रधानमन्त्री बन्नको लागि उहाँ निरन्तर तटस्थीय तपस्यामा लिन हुनुहुन्छ । तपस्याकै प्रभावले उनले माओवादीसँग सहमती गरे ।
तर दुभाग्य उहाँको तपस्याको प्रभावले इन्द्रको अमरावती डग्मगाई सक्यो होला तर रामचन्द्र बाजेको उमेदवारी डगमगाउला जस्तो छैन । अहिलेसम्म उहाँ प्रधानमन्त्री बन्ने लगन सपना मात्र जुरी रहेको छ । माओवादीसँग लगन गाँठो कसे पनि उहाँको प्रधानमन्त्री बन्ने सपनाको महल निरन्तर खस्दो छ ।

छि कस्तो लाज लाग्यो !

प्रधानमन्त्री चुनावमा दलहरुमा निर्लज्जताको पराकाष्ठा देखिएता पनि सबै भन्दा ठूलो दल ए.नेकपा माओवादी बढो लजालु देखिन थालेको छ । ठुलो दल भएरै होला उसमा देखिएको लाज पनि ठुलै छ । ठुलो दलमा देखिएको लाजले मुलुक नै लाजमय बन्न पुगेको छ । मुलुक नै लाजमय बनिरहेकोले नै होला यो लेख लेखि रहदा पनि मलाई कता कता लाज लागेर आएको छ । मुलुकमा लाजको अभावले पराकाष्ठा नाघेर लाज नै लाजस“ग लजाउने स्थिति भइरहेको बेलामा ठुला दलमा देखिएको यो लाजले कता कता खुसि पनि लागेको छ ।
पैसाको कुरा चल्दा कत्रा कत्रा लाज त पचेर निर्लज्ज हुने परिपाटीलाई क्रम भंग गर्दे हाम्रो ठुलो दल लजाउन थालेको छ । यस क्रममा हाम्रो ठुलो दल एक पटक क्रान्तिकारी लजालु बन्न पुगेको छ । हामी कहाँ कत्रा कत्रा भिडियो टेप र्सार्वजनिक हुँदा त ‘मैले हैन’ भनेर डिच्च दाँत देखाएर लाज पचाउने नेता गणहरुलाई यसपालीको अडियो टेप पच्नै सकेको छैन । सायद यसपाली लाज लाग्दा उहाँहर्ले बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित लाज पचाउने हाजमोला पाचक नखाएर राष्ट्रवादी चरित्र पेस गरेरै पो हो की -
अडियो टेप अनुसार कामरेड ‘मोरा’ ले आफ्ना चियरम्यानलाई प्रधान मन्त्री बनाइदिन उत्तरतिरबाट पैसो माग्नु भएछ । पैसो मागेको कुराले र्सवत्र चर्चा पाएपछि उहाँ यति लजाउनु भयो कि उहाँले हो भन्न नि सक्नु भएन हैन भन्न नि सक्नु भएन ।
हो भनौ भने अब खसीको टाउको देखाएर कुकुरको मासु किन्ने ठाउँबाट पैसो मागेर भएपनि कुकुरको मासु किन्न खोजेको स्विकार गर्दा इज्जत खलास हुने डर । अब हैन भनौ भने सभाषदहरुले नपत्याएर भोटै नहाल्लान भन्ने डर । सभाषदले पत्याउन पो कसरी चन्दा सन्दाको पैसो एक वर्ष’सर्वोच्चता’ आन्दोलन गर्दैमा सिद्धिइ हाल्यो । जाबो नौ महिना सरकार चलाउँदा पैसो कमाउन सिक्नै भ्याएन कमाइयो भनेर गफ र्दिदा ‘काग’ जस्ता सभाषदहरुले पत्याउने कुरा नि भएन् । बाहिरबाट पैसा आउने कुरा झुटो हो भनेर भनि दिंदा त ‘बैना’ गरेका सभाषदले पनि बैना फिर्ता गर्देलान भन्ने पिर । सभाषदको अगाडि विजेता ह्वाले उत्तरबाट पैसो माग्नु भो कि भएन बेग्लै कुरा तर मागेको छु भन्नु र मागेको छैन भन्नु दुबै लाजको कुरा भो । मागेको हो भनुभने दुनियाको लाज । मागेको हैन भनु भने सभाषदको लाज । जे होस् ‘फलाना फलानाले ‘टेलिफोन संवाद क्याप्चर गरेर गोपनियता भंग गरे’ भनेर जनताले नबुझने सभाषदले बुझने कुरा गरेर लाज पचाउने गतिलो तिरिक लगाइएको छ । जे होस् सेना, विदेशी, सरकार जस जसलाइ गालि गरेर भएता पनि ह्वा हर्को लाज छिट्टै पचोस, शुभकामना !!

तटस्थ महिमा

कुनै समय एक वैज्ञानिकले एउटा अनुसन्धान गरेछन् । अनुसन्धानको विषय थियो “रक्सिमा” लाग्ने कुरा के हुन्छ -
अनुसन्धानको क्रममा उनले साना भट्टी देखि ठुला ठुला होटलसम्म चहारेछन् । यस क्रममा उनले थुप्रै ट्वाके तथा रक्सिवाजहरुको संगत गरेछन् । खोया विर्के तुन्क्याउने देखि, ब्राण्डि, हुस्कि रेड लेवल खानेसम्मका संगत गरेछन् र आफु पनि खाएछन् । उनले हरेक दिन अनुसन्धान गर्दै डायरीमा टिप्दै गएछन् । जहा हरेक मानिसले जुनसुकै ब्राण्डका रक्सि खाए पनि त्यसमा पानी हालेका पाएछन् । अन्त्यमा उनले अनुसन्धानबाट निष्कर्षनिकाले छन्- “लाग्ने कुरा भनेको पानी रहेछ’ नत्र किन सबैले रक्सिमा पानी मिसाउ“थे -”
पानीको गुण तटस्थ हुन्छ जस्तो भाडामा राख्यो त्यस्तै हुने, जुन रंग मिसायो त्यस्तै । तैपनि लाग्ने काम पानीले नै हुने रहेछ । त्यो पानी गुणे तटस्थ एमाले कांग्रेस वा माओवादीमा नमिसिदा लाग्न सकेको छैन । पटकौंको प्रधानमन्ज्ञी चुनावले पनि केही लछार पाटो लाग्न सकेको छैन । प्रधानमन्त्री हुन नपाको चिन्ताले कामरेड प्रचण्ड र रामचन्द्र बाजेको रातमा निन्द्रा लाग्न सकेको छैन । मन्त्री बनेपछि बंगुर झै मोटामला भनेर मन्त्रि बन्ने लाममा बसेका संभावित मन्त्रिज्यूको ज्यानमा मासु लाग्नै सकेको छैन ।
मनोक्रान्तिका डा. योगी विकाशानन्द भन्थे ‘तटस्थता सल्कने पानी हो’, एमालेको तटस्थताले हाम्रा प्रधानमन्त्रीका दावेदारहरुको प्रधानमन्त्री बन्ने भाग्य सल्केर खरानी बन्दै गएको छ । स“गै मुलुकको उन्नती जनताको आशा सबै सल्कदै गैरा’छ अझै पनि तटस्थता छोडेको छैन एमालेले । यस्तो लाग्छ एमालेले राजनीतिक सामाजिक क्रान्ति छोडी सक्यो । आर्थिक क्रान्ति पट्ट आखा चिम्ली सक्यो । बरु विकाशानन्दकै अनुसरण गरे मनोक्रान्ति पो गर्न आट्यो कि जस्तो लाग्छ । उसले आफ्नो मागदर्शक सिद्धान्त मार्क्सवाद, लेलिनवादलाई छोडेर तटस्थतावाद पो राख्न लागेजस्तो छ अनि भित्तामा पनि मदन भण्डारीको फोटो हटाएर विकाशानन्दको ।
ओलीको आफ्नो गुट आफ्नो मनोमानी, खनालको आफ्नो गुट आफ्नो मनोमानी, आफ्नो मनोमानी सबै क्रान्ति, अरुको सबै भ्रान्ति, एक्काइसौ सताब्दीमा के को आर्थिक क्रान्ति केका सामाजिक, र राजनीतिक क्रान्ति – अब त मनोक्रान्ति त्यसैले तटस्थ ! जय गुरुदेव !

घुस लिन्या र दिन्या

“डिबिजी”
गोविन्द माननियले भन्नु भयो
“गडप भयो”
“गडपको कुरा नगरौ गोविन्द जी”
डि बी माननियज्यूले भन्नु भयो
“यहा“ कन्त विजोग भइयो ।”
“एतातिर पैसा गयो”
गोविन्द माननियज्यूले भन्नुभयो-
“अर्कातिर इज्जतको नास”
थप्नु भयो ।
“दिनको चैन हराम, रातको निद हराम ।”
“तपैले गल्ति गर्नु भो गोविन्दजी”
डिबी माननियले भन्नु भयो
“बेलामा बुद्धि नपुर्‍याए पछि यस्तै हो”
“कसले बुद्धि पुर्‍याएन -”
गोविन्द माननियले भन्नु भयो
“मैले कि तपैले -”
“मैले कि तपैले रे -”
डिबी माननियले भन्नु भयो
“पैसा फसाउने तपै, थोडी मैले बुद्धि पुर्‍याइन -”
“अनि तपैको चाही खुबै बुद्धि पुग्यो नी हैन -”
गोविन्द माननियज्यूले भन्नु भयो ।
“भयो बा, मलाई त्यो त्यस्तो बुद्धि पुर्‍याउन परेको छैन जसले यस्तो कालो खोरमा पुर्‍याउछ”
स्याटर नहानौ माननियज्यु ।”
डिबी माननियले रिसाउदै भन्नु भयो
“एउटै ड्याङको एउटा मुलाले अर्को मुलालाई स्याटर हानेको सुहाउदैन”
“कसरी एउटै ड्याङको मुला भइयो -”
गोविन्द माननियले भन्नु भयो
“तपै त घुस खाने घुसिया यस्तो घुसियास“ग मेरो तुलना हुन सक्छ -”
“के रे के रे ”
डिबी माननियले भन्नु भयो ।
“आफ्नो आगमा भैसी कुदाएर अर्काको टाउकाको जुम्रालाई कुरी कुरी भन्ने -”
थप्नु भो ।
“यो त हजम भएन”
“त्यत्रो घुस खाएसी कसरी हजम हुन्छ -”
गोविन्द माननियले उखान टुक्का जोड्नु भयो ।
भुडि हेरेर घुस खानु, धन हेरेर घुस दिनु भनेको थाहा छैन -”
“कसले खायो घुस -”
डिबी माननियज्यू जंगिनु भयो
“सेवा प्रदान गरे वापत लिइने सेवा शुल्कलाई घुस भनिदिने -”
थप्नु भयो
“यो सतिले सरापेको देशमा राम्रो काम त गर्नै नहुने, अपजस भन्दा केही नपाइने”
“के गर्नु भयो राम्रो काम -
गोविन्द माननियज्यूले सोध्नु भो
“सभाषद भएर पनि राम्रो काम रे -
थप्नु भयो
“बडा ठट्टा गर्नु हुन्छ तपैं”
“थोडी जोक्कर हु र म बेला न कुबेला ठट्टा गर्नलाई -”
डिबी माननिय ज्यूले भन्नु भयो
“मैले निस्वार्थ भावले आफ्नो इज्यतै दाउमा राखेर समाज सेवा गरे”
दुःख पोख्दै थप्नु भयो
“मेरो निःस्वार्थ समाजसेवाको परिणामलाई बेइज्यती र तिरस्कारले पुरस्कृत गरियो”
“यस्तै छ यहा“को रित”
गोविन्द माननीयज्यू अलि भावुक हुदै भन्नु भयो
“तपैंले समाज सेवा चाही के गर्नु भो -”
“के गरिन -”
डिबी माननियज्यूले भन्नु भो
“बेरोजगारलाई रोजगार बनाइ दिने जस्तो पुनित र महान कार्य गर्नु चानचुने समाज सेवा हो -”
थप्नु भो- “त्यो पनि इन्स्पेक्टरमा”
“त्यहि त डिबी जी यो त गजप गर्नु भा’हो”
गोविन्द माननियले भन्नु भो ।
“तर के गर्नु यहि, मामिलामा मेरो दुइ लाख रुपैया खाइ दिए सिल्लि हर्ले । सम्भिmदा नी रु“ रु“ लाग्छ ।
“त्यही त गल्ति भो नि तपैले मलाई पैसो दिनु पथ्र्यो छोरा हरुलाई इन्स्पेक्टर बनाउन”
डिबी माननियज्यूले भन्नु भयो- “ख्वाउने तपै खाने म भएसी कुरा बाहिर जादै जादैन थियो नि”
“त्यही त”
गोविन्द माननियज्यूले भन्नु भयो
“अब हामी माथि अनुसन्धान हुने होला”
“अनुसन्धान त हुने नै भयो नी तर आपत त यहानिर पो पर्‍यो”
डिबी माननियज्यूले भन्नु भयो ।
“घुस खाएको हो भनौ भने कारवाही खाइनै डर खाएको छैन भनु भने सभाषद नै नक्कली भन्लान भन्ने डर”
“यो सरासर प्रतिगामी कदम हो हामीलाई कारवाही गर्नु”
गोविन्द माननियज्यूले भन्नु भो
“बुझनु भो -”
“कसरी -”
डिबी माननियज्यूले सोध्नु भयो
“मैले त बुझिन ।”
“घुस लिने दिनेलाई कारवाही गर्नु भनेको पृथ्वी नारायण शाहको ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन’ भन्ने दिव्योपदेशको अनुसरण हो”
गोविन्द माननियज्यूले भन्नु भयो ।
“गणतन्त्रमा राजा महाराजाको अनुसरण गर्नु घोर प्रतिगामी कदम हो ।”
“सहि भन्नु भो”
डिबी माननियज्यूले भन्नु भो
गरी खान नदिने भए सिल्लीहरुले, अब कसरी कमाउने पैसा -”
“धन्दा नमान्नोस, नया“ बिजनेस गर्नु पर्छ डिबी जी कुरा अब झन फाइदाको आ’छ”
गोविन्द माननियज्यूले भन्नु भयो
“अब इन्स्पेक्टर बनाई दिने भनेर होइन, प्रधानमन्त्री बनाइ दिने भनेर घुस खाने, प्रतिसभापाद १ करोड त वैदेशिक लगानी नै भित्रिने भइ सक्या छ रे प्रधानमन्त्री बनाउन ।”

लाइभ कन्सर्ट

गाइजात्रामय यो मौसमको यो समयमा ऐतिहासिक गाइजात्रे प्रस्तुतिहरु बडो स्वभाविक लाग्न थालेका छन् । मौसमकै प्रभाव हो यहाँका हरेक मानिसमा गाइजात्रे भूत प्रवेश गरेको छ । गाइजात्रा देखाउने र हेर्ने मेसोमा यो मुलुक नै गाइजात्रामय बन्न पुगेको छ । यसरी हेदा लाग्छ हाम्रो देश एउटा ठुलो गाइजात्रे मन्च हो । जहाँ आ-आफ्नो गाइजात्रे प्रहसन देखाउनका निम्ति मानिसहरुलाई तँछाड मछाड छ ।
यहि गाइजात्रे मौसम मनाउन एक धुवादार लाईभ कन्सर्ट भएछ । कन्सर्टमा राष्ट्रिय राजनीतिका चर्चित कलाकारहरुको सानदार प्रस्तुती हुने भनेर खुब प्रचार भएछ । कार्यक्रम बडो जोडदार किसिमबाट सुरु भयो ।
उद्घोषकको जोडदार उद्घोषणसँगै सबैका ध्यान मञ्च तर्फखिचिए । यो एतिहासिक कन्सर्टको मज्जा लिन दर्शकहरुले आफ्ना आँखाहरु मञ्चतर्फकुदाए ।
उद्घोषकले पहिलो कलाकारको रुपमा निम्त्याए गायक श्री ५ हार्चचण्ड । हारचण्ड एक हातमा इलेक्ट्रोनिक गितार बोक्दै र अर्को हातले बाक्लो बाघे जंगा सम्याउँदै मञ्चमा उपस्थित भए । पुरा एक स्टारको गेटअपमा देखिएका हारचण्डलाई देख्नासाथ दर्शकहरुले ठुलो हुटिङ गरे । हुटिङले गायक हारचन्द्र मख्ख परे र हात हल्लाएर अभिवादन गरे । पुरा सानदार ढंगबाट मञ्मा पुगेका गायक हारचण्डले आफ्नो जोडदार प्रस्तुती यसरी सुरु गरे-
“नविर्से कुर्सीलाई नपाए कुर्सीलाई
विना अर्थ दिलमा सजाए कुर्सीलाई”
पूर्ण फिलिङ्गसका साथ भावनामा डुबेर गाएको गायक हारचण्डको प्रस्तुतीले दर्शकहरुलाई मन्त्र मुग्ध पर्‍यो र दर्शकहरु पनि उनीसँगै गुन्गुनाउन थाले । पुरा गितारलाई हान्दै गीत यसरी अगाडि बढ्यो ।
“त्यो सत्ता सुनौलो अनि कर्सी गज्जप
पाएको स्वादमा धपाए कटुवाललाई”
यदि सुनाउँदा निकै प्रसन्न मुद्रामा चम्केका गायक हारचण्ड यो अन्तरामा आइपुग्दा फेरी भावुक बने ।
“रमाए एकैछिन छिन अनि आँसु झर्‍यो”
कटुवाललाई धपाउँदा आफै छोड्नु पर्‍यो ।”
‘कठैबरा ।’ उनको भावुकता देखेर दर्शक पनि चुक्चुकाए । एकातिर आफ्नो भावुकता अर्को तर्फदर्शकहरुको चुक्चुकाहट गायक हारचण्ड भकानिदै गीतका बाँकी अंश तर्फअगाडि बढे ।
“कसो गरी बाँच्ने तिमी बिना मैले
हाय प्रिय कुर्सी गुमाए तिमीलाई”
उनको सांगितिक प्रस्तुतिले पुरै मासलाई नै स्तब्ध र भावुक बनायो । भावुकताको बिचबाट अझै भावुक मुडमा उनले थप गाए-
“प्रभुको निगाह केही गरी नपाउँदा
सडकमा लेर्राई नचाए रेखालाई”
यहानिर अलि प्रफुल्ल देखिएका गायक हारचण्डले प्रस्तुति यसरी अगाडि बढाए ।
“घुर्क्याइ धम्क्याई रोइ र कर्राई
सत्ता छोड्न बाध्य गराए माधवलाई”
यहाँनिर अलि उत्साही देखिएका उनले विट मार्दै गाए-
“पाँचौ पटक हार्दा नी पाइएन कुर्सीलाई
हरुवाको पगरी गुथाए मलाई”
प्रस्तुती सकेर दर्शक अभिवादन गर्दा झण्डै उनका आँसु चुहिए ।
र् दर्शक दिर्घावाट “वान्स मोर” आउन थाल्यो । निकै भावुक बनेका गायक हारचण्ड वान्स मोर गाउन सक्ने स्थितिमा थिएनन् । उनले भने- “नो मोर”
तर दर्शक नै हुन आफ्ना फेवरेड सेल्रि्रेटीलाई किन छोड्थे आखिर वान्स मोर दिनै पर्ने भयो उनलाई । त्यसैले उनले भने- “प्रधानमन्त्री चुनावमा संसदले धेरै पल्ट हटाएको मलाई तपाइको जिद्दीले फेरी हार्न चाहान्न त्यसैले यहि गित वान्स मोर गर्दिन त्यसैले म बरु अर्को गीत गाउँछु । दर्शकहरुको अनुमतिले उनले फेरी अर्को गित गाउन थाले-
“म देखि हारचन्द्रलाई डर लाग्छ सानेपामा
म छु आज नयाँ बजारमा मेरो दिल छ बालुवाटारमा ।”
(२ septmber २०१०) 

बजेट

Monday, October 25, 2010

(काम चलाऊ सरकार ले बजेट ल्याउन लागिरहेको बिषयमा बनिएको यस कार्टून कारोबार दैनिक मा छापिएको छ )

माथी गएर भएनी ...........!!

गरीबलाइ सताउने र धनको लोभमा साऊ हरु कति सम्म मुर्खता गर्छन भनी यस कार्टून मा देखाउन खोजिएको छ .यहाँ कुनै ब्यक्ति बिशेष नभई दुनियाका साहू हरुका मनोदशा माथि ब्यंग्य गरिएको छ . यो कार्टून कारोबार दैनिक मा छापिएकोछ...   

"कूट" निति

भारतीय राजदूत राकेश सुद्लाई माओबादी कार्यकर्ताले जुत्ता प्रहार गरिएको घटनामा आधारित कार्टून . जसमा माओबादीको कूटनीति प्रति ब्यंग्य गरिएको छ . यस कार्टून कारोबार दैनिक मा छापिएको छ . 
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका