किन फिर्ता गर्ने ?

Thursday, October 28, 2010

एमाले वरिष्ठ नेता डा. के. पी. शर्मा ओलीले आफ्नो पि.एच.डि. फिर्ता नगर्ने भन्नु भा’छ । उहाँसँगै पि.एच.डि. प्राप्त गर्नु भएका फिल्मि दुनियाका हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमा याचना सहित आफुले पाएको नक्कली पि.एच.डि फिर्ता गर्नु भएता पनि वास्तविक हास्य नेता के.पी. डाक्टर सापले भने कुनै कालले छोड्ला आफुले पाएको नक्कली पि.एच.डि नछोड्ने सुर कस्नु भा’छ । उहाँले आफुले पाएको पि.एच.डि सक्कली भा’को समेत दावि गर्नु भा’छ ।
वास्तवमा के.पी. डाक्टर सापलाई पिएचडी फिर्ता गर्न वाध्यता नै छैन किन भने यो उहाँले पढेर लिनु भा’ पिएचडी हैन । यो त उहाँले परेर प्राप्त गर्नु भा’ पिएचडी हो । परेर प्राप्त गरेको उहाँको लकको कुरा हो । अनि किन फिर्ता गर्ने ? भाग्य फिर्ता गर्न के को कर छ र ? अर्काको भाग्य खोस्न पाइन्छ ? त्यसमाथि केपी डाक्टरसापले त्यो पिएचडी त्यतिकै पा’का हुन र – उहाँले नेपालको हास्य राजनीतिमा विशिष्ट योगदान दिएर दुनियालाई हँसाए वापत हास्य कलाकारहरुसँगै पाएका पो हुन त । फ्रीमा पा’का हुन र ?
यहाँ मात्र पढेर सित्तैमा पाएको पिएचडी त कसैले फिर्ता गर्दैनन् । यत्रो ठुला ठुला योगदान गरेर र पैसो तिरेर किनेको पिएचडी फिर्ता गर्न मिल्छ – यहाँ सक्कली र नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित धारणा नै गलत छ । अब पैसा तिरेर खरिद गरेका, भनसुन, सोर्सफोर्सबाट प्राप्त गरेको शैक्षिक योग्यता चाँही नक्कली रे । अब पैसै नतिरी पढेकै भरमा सित्तैमा पाएको शैक्षिक योग्यता चाही सक्कली हुने रे । यस्तो नि हुन्छ कतै – कही नभएको जात्रा भनेको यहि हैन त ? त्यसैले पिएचडी फिर्ता गर्नु पर्छ भने त्यही फगत पढेको भरमा पिएचडी प्राप्त गर्नेहरुले गरुन । राजनीतिमा यत्रो योगदान दिएर राष्ट्रलाई यो स्थितिमा पुर्‍याउन मद्दत गर्नु भए वापत पिएचडी प्राप्त गर्नु भएका ओली डाक्टर सापले किन फिर्ता गर्ने ?
अब आयो विश्वविद्यालय नक्कली हो रे भन्ने कुरा – ओली डाक्टर सापलाई पिएचडी दिने विश्वविद्यालय कसरी नक्कली भयो ? पढेकै भरमा सित्तैमा पिएचडी बाँढ्दै हिड्ने अरु विश्वविद्यालय चाही सक्कली हुने रे । पैसा लिएर शैक्षिक योग्यता प्रमाण पत्र बिक्री गर्ने विश्वविद्यालय चाही कसरी नक्कली ? विश्व विद्यालयको शैक्षिक योग्यता प्रमाण पत्र त्यति सस्तो छ ? जबकी पढेकै आधारमा सित्तैमा पाइयोस् । नक्कली त ति विश्वविद्यालय हुन जसले पढेकै आधारमा सित्तैमा शैक्षिक योग्यता प्रमाणपत्र बाँडेर युनिभर्सिटी ड्रि्रीलाई सस्तो बनाए कि कसो ओली डक्टर साप ? नक्कली त पढेकै आधारमा शैक्षिक योग्यता प्रमाणपत्र दिने विश्वविद्यालय पो त । थोडी तपाईलाई पिएचडी दिने जस्तो विश्वविद्यालय नक्कली हुन्छ । पिएचडी फिर्ता गर्न परे नक्कली विश्वविद्यालयबाट पिएचडी लिनेहरुले गरुन । उहाँ जस्तो सक्कली विश्वविद्यालयबाट पिएचडी पाएको व्यक्तिले किन फिर्ता गर्ने ?
अब कसैले प्वाक्क बिचमा सोध्लान- “नपढीकन पनि पिएचडी हुन्छ ? वाहियात । किन हुँदैन ? चुनावै नजिति प्रधानमन्त्री उछिट्याउन हुन्छ भने पढ्दै नपढी पिएचडी उछिट्याउन किन हुँदैन ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका