चिया र सत्ता

Thursday, November 1, 2012

मुलुकमा दुई थरी मान्छेहरु छन । ति हुन चिया खाने र सत्ता अर्थात मन्त्री प्रधानमन्त्री पद खाने । दुबै कुरा खाने नै हुन तापनी यसमा आकाश जिमिनको फरक छ । पहिलो कुरा त सबै सत्ता खानेले चिया खान सक्लान तर सबै चिया खानेले सत्ता खान सक्दैनन । वास्तवमा सत्ता खानेहरु चिया मात्र खादैनन । उनीहरुले सबै कुरा खान्छन । यानकी यिनिहरु सर्वहारी हुन ।

मासु खानेलाई मांसहारी र सागपात खानेलाई साकाहारी भनेर जस्तो चियापान गर्नेलाई चियाहारी र सत्तापान गर्नेलाई सत्ताहारीका रुपमा बर्गीकरण गर्न पनी हम्मे नै छ । कारण बिसुद्द चियाहारीहारी पाउनु अली कठिन नै छ । चिया खानेहरुले अरु केही नखाए पनि बिस्कुट,केक, वा डोनट त अवस्य नै खान्छन । यि त बिहान चिया सँग खाने कुरा हो । अझै बिहान चिया खानेहरु बेलुका भट्टी नपस्लान भन्ने नि छैन तापनी चिया खानेहरुले त्यस्तो जेतेमेते केही खाँदैनन । उस्तै परे भागमा आए सत्तै चै छोड्दैनन अरु चाहीँ त्यस्तै हो । ति छिटपुटलाई छाड्ने हो भने चिया खानेहरु दाम्रा भुडी भएका, खस्रा गाला भएका सर्व साधारन नै हुन ।


यता सत्ता खानेहरु यस संसारका अली फरक किसिमका प्राणीहरु हुन । उनिहरु सर्वसाधारण अरु मान्छेहरु भन्दा निक्कै नै फरक देखिन्छन । प्राय: उनिहरु पोटिका ज्यान, घ्याम्पे भुँडी र चिल्ला गाला भएका हुन्छन । यिनिहरुमा कसैले दौरा लगाउछन त कसैले सर्ट,कोट भने हम्मेसी छुटाउदैनन कसैले । र जुत्ता पालीस गरेर टिलिक्क टल्काएका हुन्छन । सत्ता खानेहरु साह्रै खन्चुवा हुन्छन । उनीहरुले के खान्छन भन्दा पनि के खाँदैनन भनेर फेला पार्न मुस्किल हुन्छ । यिनिहरुले भेटेजती र संसारमा भए जती प्राय: सबै कुरा खान्छन । उनिहरुको खवाइ डाइनासोर स्टायलको छ । अर्थात उनिहरुलाई थोरैतिनोले पुग्दैन । उनिहरु सत्ता खान्छन । भत्ता खान्छन । जनताका सपना खान्छन । बिकास खान्छन निर्माण खान्छन । आसा खान्छन उमंग खान्छन ,संबिधानसभा सिनित्तै खान्छन । यसको सितन स्वरुप अर्वौ रुपैयाँ खान्छन । मरिसकेको कुरा ब्युताइ ब्युताइ खान खोज्छन । निली सकेको कुरा उकेली उकेली खान खोज्छन । यही खाने मेसोमा मुलुकलाई बेथितिको सिकार बनाएर जनताको मासु खान्छन । सके सम्म एक्लै खान्छन नसके मिलेर खान्छन । अरुलाई देखाइ देखाइ चपाइ चपाइ निलेर खान्छन । अनी खान थालेसि हतपती छोड्न चाहदैनन । 

यो समय सत्ता खानेहरु बिच पनि चिया खाने लहर चलेको छ । सत्ता खाइरहेका र सत्ता खान तम्सिरहेकाहरु यहाँ चिया ख्वाउन र खानमा व्यस्त छन । सत्ता खाने बेला अरुलाई दिन नचाहनेहरु चिया खाने बेला चाही बोलाई बोलाई अरुलाई नि बाँडेर खादा रहेछन । सत्ता खाने बेलामा आरोप प्रत्यारोप हुन्थ्यो । चिया खाने बेलामा ठट्टा र रमाइलो छेडछाड हुदो रैछ । के बिधी मिल्न सकेका सत्ता खानेहरु चिया खानु पर्दा त । वास्तवमा चिया र सत्ताले दुई फरक कुराहरुको प्रतिनिधित्व गर्दा रहेछन । चियाले आपसी सदभाव र मेलमिलापको भने सत्ताले चाही लुछाचुडी र मारमारको । तथापी सत्ताको टक बसेकाहरुको मन सत्तामै छ र चिया खाँदा पनि सत्तालाई नै मिस गरिरहेका छन ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका