रियल फिल्म

Saturday, May 15, 2010

माओवादी अध्यक्ष कामरेड ‘प्रचण्ड’ले भन्नु भा’छ ‘रियल फिल्म त सुरु हुन बाँकी नै छ ।’ छ दिनदेखि जारी आम हडताल रोकेपछि आफ्ना कार्यकर्तालाई जोस्याउँदै कामरेड प्रचण्डले यसो भन्नु भा’को हो । द्वन्द काल देखि नै कामरेड प्रचण्ड बढो फिल्मी टाइपको हुनु हुन्थ्यो । त्यसबेलै उहाँ करिश्मालाई खुब मन पराउनु हुन्थ्यो । उहाँले फिल्मी कलाकारहरुलाई मन पराउन थालेपछि फिल्मी कलाकारहरुले पनि उहाँलाई मन पराउन थाले । पछि अहिलेकी हिट हिरोइन रेखा थापासँगै ‘लालुपाते’ डान्स गरेपछि अभिनेत्री रेखाले उनलाई साच्चिकै हिरोको संज्ञा दिइन् । त्यसपछि फिल्म लाइनप्रति उहाँको इन्ट्रेस्टले उहाँलाई फिल्मि व्यक्तित्वहरुको रुपमा स्थापित गराइदिएको छ । फिल्मी व्यक्तित्वको रुपमा कामरेड प्रचण्ड स्थापित हुनु भएपछि अब कलिउडको भविष्य उज्वल बन्दै गएको छ र हलिउड बलिउडले फ्लप खाने सम्भावना बढेको छ ।
अब हिरोइनले नै उहाँलाई रियल हिरोको संज्ञा दिएपछि रियल फिल्म त बनाउनै पर्ने भो । फेरी नेताहरुप्रति जनताको बढ्दो वितृष्णा पछि केहि मान्छेहरु आफ्ना अघि पछि लगाउन कै निम्ति पनि नेताबाट अभिनेतामा रुपान्तरण कामरेड प्रचण्डको बाध्यता पनि हो । यो महान रुपान्तरणको प्रकृयामा उहाँले अवस्य पनि निरन्तरताको क्रम भंग गर्नु हुनेछ । कारण हलिउड बलिउडका अभिनेताहरु पछि नेता बनेका थुप्रै उदाहरणहरु छन् । तर हाम्रा कामरेड प्रचण्ड नेताबाट अभिनेता बन्नु हुनेछ । यस महान रुपान्तरणले निश्चित रुपमा निरन्तरताको क्रम भंग गर्दै संसारलाई चकित बनाउने छ । उहाँले भन्नु भए जस्तै यहाँ ठुलो अचम्म हुने छ ।
माओवादीको आम हडतालले सत्ता कब्जा गर्ने भो, यो माओवादीको सत्तामा पुग्ने रणनीति हो भनेर आम हडताल भरि धेरैले विश्लेषण गरे । वास्तवमा त्यो गलत थियो यो त केवल रियल फिल्मको रिहल्सल थियो । कामरेड प्रचण्डले पनि यस्तै भन्नु भा’छ । मे दिवसको दिन फिल्मकर्मी कामरेड युवाराज लामाले भन्नु भा’थ्यो फिल्ममा धेरै भिलेनहरुलाई ठिक पारियो अब पालो साच्चिकै भिलेनहरुको हो । कामरेड लामाको रियल भिलेनहरुलाई ठोक्ने कुरा र कामरेड प्रचण्डको रियल फिल्म बनाउने कुरालाई यसो विचार गर्दा लाग्छ- अब कलिउडमा एउटा महान र ऐतिहासिक फिल्म बन्ने भयो । जसले फिल्म दुनियामा एउटा महान क्रान्ति ल्याउने छ र फिल्मी दुनियाका एक से एक वादशाहहरु ढल्ने छन् । अहिलेसम्मका सम्पूर्ण रेकर्डहरु तोडिने छन् । र ओस्कार अवार्डका सबै विधाहरुमा यसले कब्जा जमाउने छ । यस अघिको चर्चित “लालुपाते नुह्यो भुइतिर” आन्दोलन रेखा थापासँगको आइटम डान्सले मात्र चर्चित थिएन यो त रियल फिल्म निर्माण प्रकृयामा ऐतिहासिक छलाङ नै थियो । यसै आन्दोलनबाटै कामरेड प्रचण्डलाई रियल हिरोको उपाधी मिलेको थियो । यसै आन्दोलनबाट नै “वार्ता सिधै मालिकसँग गरिन्छ” भनेर ऐतिहासिक व्यंग्य हान्दै उहाँले महान हास्य कलाकारको रुपमा आफुलाई स्थापित गराउनु भएको थियो । त्यहि महान ‘लालुपाते’ आन्दोलनको सफलतास“गै उहाँलाई रियल फिल्म निर्माणको लागि ऐतिहासिक प्रेरणा मिल्यो र भर्खरै त्यसको रिहल्सल सम्पन्न भयो एउटा फिल्मको रिहल्सलकै निम्ति त्यत्रो उपस्थिति हुनु भनेको वास्तवमै एउटा चमत्कार थियो । रिहल्सलका निम्ति यति ठुलो उपस्थिति संसारका कुनै पनि फिल्महरुमा न यस अघि थियो न यस पछि नै हुनेछ । र रिहल्सलकै निम्ति ६/६ दिन देशै ठप्प हुनु निश्चय नै एउटा चमत्कार थियो । जसले अब बन्ने रियल फिल्मको भव्यतालाई संकेत गर्छ । रियल फिल्म चानचुने हुने छैन र रियल फिल्मको भव्यता र चमत्कारको अनुमान सामान्य दिमागका निम्ति “आउट अफ क्यापासिटीको कुराहो ।
कतिपय मुर्खहरुले भन्ने गरेका छन्, प्रतिकार र शान्ति र्‍यालीबाट डराएर माओवादीले आम हडताल फिर्ता लियो । यो जति मुर्ख र केटौले कुरा केही होइन । यो त हात्तीको जिउमा कमिलाले थिचेर हात्ती बस्यो भनेर गिल्ला गरे जस्तै हास्यास्पद कुरा हो । सयौ कलाकारहरु प्रवेश गरेको माओवादीमा हिरोहरुको कमि थिएन । त्यस्ता नाथे प्रतिकारमा त एउटा हिरो खटाइदिए पुग्ने थियो । त्यसपछि हिरोले कमाल देखाइदिइ हाल्थे ।
“हे ! साथीको निम्ति यो हात सलाम छ । दुश्मनका निम्ति यो हात फलाम छ ।” त्यसपछि त प्रतिकारमा उत्रिएका भिलेनहरु सोत्तर ।
जहाँसम्म शान्ति र्‍यालीको कुरा छ । त्यसलाई झन इजि रुपमा ठिक पार्न सकिन्थ्यो । त्यसको लागि कामरेड रेखा थापालाई खटाउन सकिन्थ्यो । उहाँ आफ्ना छोटा पहिरनमा र्‍याली स्थलमा प्रवेश गर्नु हुन्थ्यो । अनि त्यहाँ उपस्थित मानिसहरुमा यस्तो भुइचालो जान्थ्यो कि नब्बे सालको त के हो र – त्यसपछि उहाँ नाइटो देखाउँदै चट्ट अगाडि बढ्नु हुन्थ्यो शान्ति र्‍यालीका मान्छेहरु असान्त हुदै पछिपछि । अनि उहाँ सिधै माओवादी जुलुसमा प्रवेश गर्नु हुन्थ्यो अनि सारा शान्ति र्‍यालीका मान्छेहरु माओवादी जुलुसमा । अनि त “राष्ट्रघाती एमाले, न पोथी न भाले!!” नारा सुरु भइहाल्यो नि ।
तर यसो गरिएन कारण यो रिहल्सल मात्र थियो रियल फिल्म त सुरु हुन बाँकी नै थियो ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका