“गरिखान दिएन बजियाहरुले” प्लेट उचाल्दै कामरेड नेपालले भन्नु भयो “बसि साध्य गरेनन् ।”
“उनको के कुरा गर्नु आफ्नै घरमा शत्रु पसेपछि” पुलाउ र काउली प्लेटमा हाल्दै भन्नु भो- “आफ्ना विरुद्ध आफ्नै कामरेडहरुले सही घसेपछि ।”
“जति गरेपनि जस पाइएन” खसिको मासु हाल्दै भन्नु भयो “दिनै जसो उद्घाटन गरिया छ तर भन्छन केही गरेन सरकारले” ।
कामरेड नेपालको घुर्किले कामरेडहरु मुखामुख गरे । पुलाउ मासु र आलु काउली खादै कामरेड नेपालले भन्नु भो- “अब राजिनामा दिन्छु ।” कामरेड नेपाल भएर पनि राजिनामाको कुरा गरेको देखेर अरु कामरेडहरुले आफैलाई प्रश्न गरे- “हैन म सपनामा छु कि क्या हो -” कतिले आफुलाई चिमोटी हेरे तर कोही बिउँझिएनन कारण त्यो विपना नै थियो ।
“हैन कामरेडले के भन्नु भा’को -” एक जना कामरेडले अनौठो मान्दै सोध्नु भयो ।
“म राजिनामा दिन्छु भनेको” कामरेड नेपालले भन्नु भयो- “वर्तमान परिपेक्षमा सहमतिको बाधक बन्दिन म ।”
राजिनामाको ‘रा’ समेत उच्चारण गर्न नचाहने कामरेड नेपालबाट जिल्ल परे ‘मुड चेन्ज तुरुन्तै’ सोधे- “हैन यो कैलाश खसिको मासु परेछ की क्या हो ।”
“ठिक भन्नु भयो कामरेडले” एक जना कामरेडले उत्साहित हु“दै भन्नु भयो- “राजिनामा दिनै पर्छ ।”
“राष्ट्रिय सहमतिका लागि पार्टीबाधक बन्नु हुन्न” अर्का कामरेडले थप्नु भयो-”बाटै खुलाउनका लागि भएपनि कामरेडले राजिनामा दिनै पर्छ”
“कस्तो राष्ट्रिय सहमतिको कुरा गर्दै हुनुहुन्छ कामरेडहरुले” कामरेड नेपालले भन्नु भयो- “मैले बुझिन” ।
“राष्ट्रिय सहमति त्यो हो जसले राष्ट्रको हित गर्छ ।” अर्का कामरेडले भन्नु भयो- “त्यसका लागि कामरेड नेपालले राजिनामा दिनै पर्छ ।”
“हाम्रो राष्ट्र नेपाल होकी होइन -” कामरेड नेपालले सोध्नु भयो ।
“हो” अरु कामरेडहरुले उत्तर दिनु भयो ।
“अनि नेपालकै राजिनामा मागेर नेपालकै सरकार ढालेर कसरी राष्ट्रिय सहमति बन्न सक्छ – कामरेड नेपालले भन्नु भयो- “सरकार ढाल्दा नेपालको अहित हुन्छ । नेपाल राष्ट्र हो । नेपालको अहित गर्नु राष्ट्रको अहित गर्नु हो” थप्नु भो- “राष्ट्रकै अहित गरेर कसरी बन्छ राष्ट्रिय सहमति -”
“तर म राजिनामा दिन्छु ।” कामरेड नेपालले भन्नु भयो “किनकि अब त अति नै भयो ।”
“हो कामरेड राजिनामा दिनु पर्छ” अरु कामरेडहरुले उक्साए- “नत्र अति भएपछि खति हुन्छ ।”
“तर म त्यसै दिन्न ।” कामरेड नेपालले कुरा घुमाउनु भयो- “केही गरेर मात्रै दिन चाहन्छु ।”
“तपाईले केही गर्न सक्नु हुन्न कामरेड” एक कामरेडले भन्नु भयो- “सक्ने भए त यत्रो एक वर्षा गरि हाल्नु हुन्थ्यो नि ।”
“एकत तपाइले गर्न सक्नु हुन्न” अर्का कामरेडले भन्नु भयो- “अर्को सकेनी गर्नु हुन्न” अर्का कामरेडले थप्नु भयो ।
“कामरेडले गर्न सक्ने एउटै कुरा छ” अर्का कामरेडले भन्नु भयो- “त्यो कसैले रोक्न सक्दैन ।” थप्नु भो- “तपाई राजिनामा गर्नोस कामरेड, तपाईले सक्ने यहि हो ।”
“हुन्छ म राजिनामा दिन्छु” कामरेड नेपालले भावुक हुदै भन्नु भयो- “तर त्यस भन्दा अगाडि म सम्बोधन गर्न चाहन्छु कामरेडहरु । के म त्यति पनि गर्न नपाउ त -” “पाउनु हुन्छ कामरेड” सबै कामरेडहरुले एकै स्वरमा भने- “गर्नोस”
“अब तपाईहरु नै भन्नोस” कामरेड नेपालले भन्नु भयो “म देशवासीका नाममा सम्बोधन गरौ की संसदमा -” “देशवासीका नाममा संवोधन गर्नोस कामरेड” कामरेड पोख्रेलले भन्नु भयो ।
“रेडियोबाट गरौं कि टिभीबाट -” कामरेड नेपालले सोधनु भयो ।
“टिभीबाटै गर्नोस न त -” कामरेड पोख्रेलले भन्नु भयो ।
“सरकारी टिभीबाट कि प्राइभेटबाट -” कामरेड नेपालले सोध्नु भयो ।
“सरकारी टिभीबारै गर्नोस न त ।” कामरेड पोख्रेलले भन्नु भयो ।
“एन टिभीबाट कि एम टिभी-२ बाट -” कामरेड नेपालले सोध्नु भयो ।
“भो भो प्राइभेटबाटै गर्नोस न त ।”
“न्यूज च्यानलबाट कि सामान्य च्यानलबाट -”
“भयो तपाई रेडियोबाटै गर्नोस त ।”
“रेडियो नेपाल कि एफएमहरुबाट -” कामरेड नेपालले सोध्नु भयो ।
“भयो कामरेड अब रेडियो टिभी केही होइन बरु तपाई संसदमा सम्बोधन गर्नोस ।” हैरान भएर कामरेडहरुले भने ।
“संसदमा – उठेर गरौ कि बसेर -” कामरेड नेपालले अझ प्रश्न गरिरहे । कामरेड नेपालले जेष्ठ १४ सम्म प्रश्न तानिरहने देखेर कामरेडहरु हैरान भए र भने- भो कामरेड बरु राजिनामा नै नदिनोस । त्यसपछि उहाँ मुस्कुराउनु भयो ।
(बिश्वदीप साप्ताहिक )
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment