खिरारेको चुनाव

Wednesday, June 5, 2013

          जोस्याउनेले जोस्याए, जोसिने जोस्सिए । सर्बोच्चबाट झिटिझाम्टा बोकेर खिरारे सिंहदरबार पसे । मिसन चुनावको । उठ्नेहरु उठ्न तम्सिए । बस्नेहरु बस्न तम्सिए । नेताहरु गाम पस्न पर्ने भएसी भुडी घटाउन मर्निंग वाक जान थाले । लजाउनेहरु पाचक र बुर्काको जोहो गर्न थाले । चुनाव हुने भएसी राजनीतिक प्राणिहरु एक्कासी सक्रिय देखिन थाले ।
सबका सब दलहरु र नेताहरु चुनावी सर्दमको जोहो गर्न थाले । कोही भाटा बनाम्न लागे । कोही चन्दा उठाम्न । जनताकहाँ जाँदा बोल्ने बोलि मिठो र चिल्लो बनाउन कतिले आफ्ना रुद्रघन्टिमा तेल घस्न थाले । जनताकहाँ जादाँ यो कुरा मैल्यै गरेको हुँ भन्ने देखाम्न आफ्ना क्षेत्रको बिकाश निर्माणको लगत राख्न थाले । अरुलाई सराप्नु पर्ने गालिहरुको महाकाब्य नै रचना गर्न थाले कोही । कोही  त्यसैलाई टुप्पी बाँधेर पढ्न थाले । आफ्नो आंगको भैसी लुकाएर अर्काको आंगको जुम्रा कसरी हाइलाइट गर्ने हो सो को ट्रेनिङ लिन भर्ना भए कोही ।


यसरी चुनावको माहोलले शहर तात्यो । गाउँतिर नि संबिधान बनाउन पठाएका मान्छेहरु संबिधान नै बनाउन नसकी फेरी पठाउ भन्दै गाउँ फर्किदै छन भन्ने चर्चा भयो । उनिहरु कस्ता मुख लागेर फर्केलान त भनेर त्यता ठुलो उत्सुकता भयो । आफुले तोकेका जिम्मेबारी पुरा नगरी आफ्नै मोजमस्तीमा डुबेकाहरु लज्जित भएर घोसेमुन्टो लगाएर आफ्ना अगाडी उभिएको हेर्न उनीहरु लालाहित भए ।



खिरारे पसेको झन्डै एक हप्ता चुनाव हुने भो भन्ने कुराले मुलुक तात्यो र उसैगरी सेलायो । खिरारेले चुनाव गराउने भाका कायमै राखे । दलहरु कुद्दै पर पुग्दै फर्किदै गर्न थाले तर खिरारेले सिट्ठी फुक्न सकेनन । खिरारेले पात्रो हेरेर जोखाना हेरेका हेर्यै भए, तर चुनावको साइत जुराउनै सकेनन । उनले पात्रो भरीमा त्यो दिन, महिना र तिथी देख्न सकेनन जहाँ चुनाव गर्न सकियोस ।


संबिधानसभा चुनाव गराउनु तिनको सामर्थ्यको कुरा रहेन अब । गाविस चुनाव गराउनु पनि चानचुने छैन । क्याम्पसे चुनाव त स्थगीत भै नै सक्यो । अब श्रीमान खिरारेले आफ्नो इज्यत राख्नु हो भने प्राइमरी स्कुलका कक्षाहरुमा मनिटर चुनाव गराए बेश । उनले यसैमा आफ्नो सारा बलबुता खर्च गरे चुनाव सफल होइएला | होइन भने त क्या हो क्याहो । संबिधानसभा चुनाव त बोकाको मुखमा कुबिन्डै सरी भो | मान्छे हँसाउनै हो भने निल्न तम्सिदा भयो । सिरियस्ली नै हो भने त क्या हो क्याहो ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका