हाई हाई बाबुराम !!

Monday, September 5, 2011

‘नव निर्वाचित प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई बधाई र शुभकामना तर पार्टनरहरु गतिला छैनन् होस चै अवश्य पुर्‍याउनु होला’ एमाले युवा नेता योगेश भट्टर्राई ले फेसबुकमार्फत नवनियुक्त प्रधानमन्त्री डा. भट्टर्राईलाई दिएको शुभकामना हुन यी । हुन त गत आइतबार सम्पन्न प्रधानमन्त्री चुनावमा उनको दल नेकपा एमालेले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई र्समर्थन गरेको थियो । हतियार र लडाकु पूर्ण रुपमा परित्याग नगरेसम्म माओवादी नेतृत्व स्वीकार गर्न नसकिने अडानमा रहेका कांग्रेस र एमालेलाई यस मुद्दामा बिना उपलब्धि नै माओवादीको नेतृत्व निश्चय पनि सुखद कुरा होइन । तैपनि भट्टर्राई प्रधानमन्त्री हुनुलाई व्यक्तिगत रुपमा दुखद रुपमा भने लिएका छैनन् ती पार्टी नेता तथा र्समर्थकहरुले पनि ।
एमाले युवा नेता योगेश भट्टर्राईको स्टाट्स पनि केवल एउटा औपचारिकता मात्र थिएन । अरु युवाहरु जस्तै उनको पनि बाबुरामप्रतिको आशा प्रतिबिम्ब यसमा झल्कियो । सैद्धान्तिक र बैचारिक रुपमा विरोधी भएता पनि व्यक्तिगत रुपमा बाबुरामलाई हाई हाई गर्नेहरुको ठूलै लाम छ ।

बाबुराम पछिल्ला समयमा युवा पुस्ता र मिडिया माझ निकै लोकप्रिय छन् । विशेषत उनी अर्थमन्त्री भएका बखत राजस्व असुलीमा गरेको उल्लेख्य प्रगतिले उनलाई चर्चाको चुलिमा पुर्‍याई दियो । उनी समकालिन नेताहरुमा र्सवाधिक लोकप्रिय बन्न पुग्नुभयो । जसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खस्कदो व्यक्तित्व पनि सहयोगी बन्न पुग्यो । एउटा ठूलो पार्टीको हिसाबमा माओवादीमा जनताको आशा थियो नै । जुन आशा पूरा गर्न प्रचण्ड त्यति भरपर्दा देखिन छाडे । उनका बिकल्पको रुपमा बाबुराम प्रस्तुत हुन थाले ।
त्यसो त बाबुरामको प्रसिद्धि उनको सफल अर्थमन्त्रीको कार्यकाल र प्रचण्डको व्यक्तित्वमा आएको स्खलनबाट मात्र बढेको थिएन उनी संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चुनाव जित्ने सभासद हुन । सशस्त्र द्धन्दकालमा पनि उनी सधै चर्चित नै थिए । शान्ति वार्तामा पनि यिनले महत्वपूर्ण भूमिका खेले । तथापि बाबुराम प्रचण्डको बिकल्पको रुपमा र दोस्रो पुस्ताको र्सवाधिक लोकप्रिय नेताको रुपमा देखापरेको चाहि पछिल्ला समयमै हो । आलोचकहरु यसलाई बाबुरामलाई चुलीमा पुर्‍याएर प्रचण्डलाई साइजमा ल्याउने विरोधीको चालबाजीको रुपमा बुझदछन् ।
एउटा बौद्धिक र तार्किक व्यक्तित्वले गर्दा युवा पुस्ता भट्टर्राईप्रति आकषिर्त भए र सञ्चार माध्यमहरुमा पनि निकै छाउन थाले । अखबारका विचार पृष्ठ र सम्पादकीयहरु उनका र्समर्थनमा लेखिन थाले । मिडियाको प्रभाव पर्ने सहरी पढेलेखेका जमातहरु र मध्यम बर्गियहरु उनीतर्फ आकषिर्त भए । उनले पार्टीबाट भन्दा बाहिरबाट बढी र्समर्थन पाए । टीभी र अखबारका एसएमएस मत र्सर्वेक्षणहरुमा भावी प्रधानमन्त्रीका रुपमा भट्टर्राईका पक्षमा मत आउन थाल्यो । माओवादी, गैर माओवादी बृतबाट अबको प्रधानमन्त्री बाबुराम बन्नु पर्छ भन्ने धेरै देखिए । पत्रकार किशोर नेपालका शब्दमा उनी प्रधानमन्त्रीका ‘माइडार्लिङ उम्मेदवार’ भए ।
भट्टर्राई र सोसल मिडिया
अरब मुलुकहरुमा सत्ता परिवर्तनका लागि निर्णायक भूमिका खेलेका सोसलमिडियाहरुले नेपालमा भट्टर्राईलाई यो स्थितिसम्म ल्याई पुर्‍याउन थोर बहुत भूमिका अवश्य नै खेलेको छ । खासगरी उनलाई लोकप्रिय बनाउने कार्यमा फेसबुक टि्वटरले पनि भूमिका खेलेका छन् । उनी अर्थमन्त्री हुदा फेसबुक एकाउन्ट खोलेका थिए जसको केही महिनामै हजारौं साथीहरु बने । सामाजिक सन्जालमा युवाहरुसगको प्रत्यक्ष अन्तरक्रियाले उनी युवाहरुमा राम्रो प्रभाव पार्न सफल भए । जब उनले आफ्नो फेसबुक एकाउन्ट बन्द गरे उनका नाममा फ्यान पेजहरु बने । उनको फ्यान पेजमा झन्डै पचास हजारले लाइक गरेका छन् । उनका नाममा धेरै पेजहरु बनेका कारण कुनैमा धेरै फ्यान छन् कुन कुनैमा थोरै । यी पेजहरुमा आधिकारिकताका प्रश्न एकातिर होलान तर जे होस यो सोसल मिडियामा उनका फ्यान बन्नेहरुको लहर चाहि पक्कै हो । यस्तै टि्वटरमा पनि उनका नामका थुप्रै एकाउन्टहरु छन् । यद्यपि ती कुनै पनि भेरिफाइड छैन । तैपनि हजारौंले बाबुरामलाई फलो गरेका छन् । र बधाई र शुभकामना दिएका छन् । उनी फेसबुक र टि्वटर प्रयोगकर्तामाझ निकै लोकप्रिय बनेका छन् र धेरैले आफ्ना स्टाट्सहरु उनलाई बधाई र शुभकामनामा खर्चिएका छन् ।
प्रधानमन्त्री बनेपछि उनी राष्ट्रिय अन्तर्रा ट्रय मिडियामा निकै छाएका छन् । बीबीसीले यसलाई ‘असंभव आशाको बोझ’ भन्दै टिप्पणी गरेको छ ः प्रधानमन्त्री बाबुराम भट्टर्राईसमक्ष इतिहासको घडीलाई उल्ट्याउने चुनौती छ ।
अचेल उनले चढेको नेपालमा जडित ‘मुस्ताङ’ जिपले खुब चर्चा पाएको छ । यस्तै सकारात्मक कार्यको निरन्तरताले उनी चर्चित बन्दै जालान भन्ने लक्षण पनि देखिन्छ । तर प्रमको लागि चर्चा मात्र ठूलो कुरा होइन मूल कुरा त शान्ति प्रक्रिया र संविधान लेखन कसरी पुरा गर्छन् उनको राजनीतिक भविष्य यसैमा निर्भर रहन्छ । यो कार्यभार परा हुनेमा धेरैले आशंका व्यक्त गरेका छन् । उनलाई बाहिरबाट भन्दा भित्रबाट नै असफल बनाइन सक्ने आशंका उनका गैर माओवादी र्समर्थकहरुको छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका