कलेज बजार

Saturday, July 16, 2011

सिजन र उपभोक्ताको माग अनुरुप बजार परिवर्तन हुदै जादो रहेछ । दसैको बेलामा खसी बजारले ठूलो स्कोप लिएको हुन्छ । चुनावको बेलामा मतदाता बजारको चहलपहल बेग्लै हुन्छ । प्रधानमन्त्री छान्ने बेलामा सभासदको बजारको कुरा गरी साध्य छैन । महाधिवेशनको समयमा पार्टी प्रतिनिधिको बजार अझ कुरा नगरुम । बरु अहिले कलेज बजारकै कुरा गरुम किनकि अहिले सिजन कलेज बजारकै छ । कुराको सिजनेबल आइटम अलि मिठो पनि हुन्छ ।
एसेल्सीको रिजल्ट पछि कलेज बजारका उपभोक्ताहरु ह्वात्तै बढेका छन् । उपभोक्ता बढेकैले बजारमा राम्रो सम्भावना बढेको छ कलेज बजारमा । यहि सम्भावनालाई क्याच गर्न । यहि मौकालाई झयाप पार्न कलेज बजारमा थुप्रै साउजीहरु ओइरिएका छन् र सबै साउजीहरु शिक्षा बेच्नका निम्ति तछाड मछाड गरिरहेका छन् । साउजीहरुले थुप्रो लगानी ओइराएका छन् कलेज बजारमा । लगानी अनुसार कलेजहरुका स्तर निर्धारण भएको छ । त्यहि स्तर अनुसार यहा फाइव स्टार कलेजदेखि ठूलाठूला डिपार्टमेन्टल र सुपर कलेजहरु खुलेका छन् । फाइभ स्टार कलेजको पारा बेग्लै छ । त्यहा गेम, स्वीमिङ पुलदेखि लिएर क्यान्टिनमा चौरासी ब्यन्जन देखि क्यासिनो समेत त्यहि हुन्छ । त्यहा क्यासिनो भन्नाले कलेजको लेखा शाखालाई बुझाउ“छ जहा“ अभिभावकको पैसा स्वाहा पारिन्छ । फाइभ स्टार भएपछि अब साने बेग्लै । सुविधा के मात्रै राख्न बाकी राख्या छ ? मात्र बन्क हान्ने विद्यार्थीलाई कलेजकै गाडीमा राखेर फिल्म हल पुर्‍याइ दिने बाहेक । फाइभ स्टार कलेज भएपछि पारा पनि फाइभ स्टार होटलकै छन् । जसरी स्टार होटल हर्ले एयरपोर्टबाट पर्यटक तानेर जबरजस्ती गाडीमा लगि होटलमा बसाउछन् । त्यसैगरी यी तारे कलेज हर्ले नी डिस्टिक्सन वाला विद्यार्थीहरुलाई घरै आएर तानेर लैजान्छन् र भर्ना गराउछन् र भन्न लगाउछन् ‘मैले त यो कलेज भर्ना गरे तपैले नी ?’
अब सुपरकलेजका कुरा गरुम । सुपर कलेजले सुपर मार्केट झै चिरिच्याट पारेर सजिसजाउ गर्छन् । सुपर मार्केटले पुत्लालाई कपडा पहिराएर ग्राहक आकषिर्त गरेझै हाम्रा प्रोफेसर साप र शिक्षाविद्हरुलाई सल्लाहकारको पगरी गुथाएर ग्राहक आकषिर्त गरिरहेका छन् । यता प्रोफेसर सापहरु पनि पुत्ला बन्नुमा मख्ख छन् । बजारमा व्यक्तित्व बेचेर पैसा कमाउने मौकालाई चुकाउन चाहेका छैन्न उहाहर्ले ।
कलेज बजार स्टार र सुपर कलेजमा मात्र सीमित छैनन् । होलसेल कलेज, खुद्रा कलेज हुदै नांग्ले कलेजसम्म पुगेको छ कलेज बजार । अब बाकी छ रिक्सामा साइन बोर्ड टासेर घुम्ति कलेज खोलेर ‘लौ किन्नोस हजुर तात्तातो शिक्षा’ भन्न । हेर्दै जानोस कुनै दिन एउटा सटर खाली रहेछ भने पनि भाडामा लिएर कलेज खोल्न बेर छैन । वाह गज्जबकै छ कलेज बजार ?

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका