लोडसेडिङ हटाउने उपाय

Thursday, April 1, 2010


लोडसेडिङले गर्दा हामीले हैरानी खेप्दै आएको धेरै भयो । जहिले पनि भित्तामा तन्द्रयाङ तुन्द्रुक झुण्डिने तार हुन्छ बल्ब हुन्छ, स्विच हुन्छ तर विद्युत भने कहिल्यै हुदैन । सरकार लोडसेडिङ घटाउन वर्षौं देखि लागेको लाग्यै छ तर लोडसेडिङ भने कहिल्यै घट्न सकेको छैन । धेरै चोटी हामी कहा हाम्रा खोलानालाबाट मनग्गे विद्युत निकालेर मुलुकै झिलीमिली पार्ने कुरा भएका छन् । अझ हाम्रा कति बुज्रुक, विद्वान नेताज्यूले रिमोट कन्ट्रोलबाट विद्युतको बिक्री गर्ने कुरासम्म गर्नु भएको थियो । मुखहरुले यसलाई हसी मजाकमा उडाए । तर उहाँको कुरा असम्भव थिएन । यदि पर्याप्त विद्युत निकाल्न सकेको भए त जसरी पनि सप्लाई गर्न सकिन्थ्यो । पानी मुनीबाटै किन नहोस । यहाँ समस्या त विद्युत निकाल्नुमा रह्यो । यहाँ पुग्ने विद्युत निकालेर विदेशमासम्म निर्यात गर्न पुग्ने हुँदा त जमाना कहाँ पुग्ला – विज्ञानको चमत्कारले त्यति बेलासम्म रिमोट कन्ट्रोलबाट विद्युत सजिलै निर्यात गर्न सकिन्छ । अझ जलविद्युत विकासको अहिलेको गतिलाई हेदा त त्यो बेलासम्म त विद्युत निर्यात गर्न रिमोट कन्ट्रोल पनि चाहिदैन । ‘ए विद्युत त“ बिक्री भएको छस ल विदेश जा’ भनेर अह्राए पछि विद्युत आफै विदेश जान्छ । अझ विद्युतलाई बिक्री गर्नै पर्दैन अवस्था हेरेर उ आफै ग्राहक खोज्छ । आफैलाई बिक्री गर्छ र आफै निर्यात हुन्छ । अझ त्यति बेला त जलविद्युतको चलन पनि हराइ सक्छ होला । विज्ञानको चमत्कारले त्यतिबेला गफैले विजुली निस्कन्छ होला । अहिलेको हाइड्रोपावर भने जस्तो त्यतिबेला गफोपावर बनाइन्छ होला र गफबाट बिजुली निस्कन्छ होला । अनि हाम्रा खोलानालाहरु काम नलाग्लान । तर नआत्तिनुहोस् त्यति बेला पनि हामीमा पर्याप्त विद्युत निकाल्ने क्षमता हुनेछ । यति बेला जलश्रोतमा दोश्रो धनि देश भए जस्तै त्यतिबेला हाम्रो देश गफ श्रोतमा पहिलो धनि देश हुन बेर लाग्ने छैन । कम्ता गफाडी छौ र हामी । तर त्यो त हाम्रो नाती पनाती, खँलातीको पालामा हुने कुरा हो । हामी अब हाम्रै पालाको कुरा गरौ न ।
सरकार लोडसेडिङ घटाउन लागेको लाग्यै छ । लोडसेडिङ हटाउन कै लागि इर्न्भर्टर आयातमा रोक लगाई सकिएको छ । तर घटाउन सकिरहेको छैन । इर्न्भर्टरले विद्युत खाएकोले लोडसेडिङ भएको भन्दै इर्न्भर्टर आयातमा रोक लगाइएको हो तर रोक लगाए पनि लोडसेडिङ घटेन । रोकेरै लोडसेडिङ घटाउने अर्को उपाय छ । त्यो हो स्विच अन गर्नै रोक लगाइदिने । स्विच अन गर्न प्रतिबन्ध लगाइसकेपछि विद्युत खपत हुने सम्भावना हुँदैन । विद्युत खपतै नभए पछि लोडसेडिङ हुने कुरै भएन ।
तर लोडसेडिङ नभए पनि के मज्जा भयो र बाल्नै नपाएपछि र विद्युत उपकरण चलाउनै नपाए पछि । तर भर्खरै लोडसेडिङ घटाउने नयाँ उपाय पत्ता लागेको छ । त्यो उपायको कार्यान्वयन गर्न सके बाह्रै मास झिलिमिली हुने छ । हालै एसएलसी परिक्षा चलेकोले लोडसेडिङ घटाइएको छ । ऐलेसम्म केही गर्दा पनि नघटेको लोडसेडिङ एसएलसी परिक्षाले घट्नुलाई सकारात्मक मान्नु पर्छ । यसले नयाँ सम्भावनाको ढोका खोलेको छ । अब विस्तारै एसएलसी परिक्षालाई बढाउँदै लगेर लोडसेडिङलाई घटाउँदै लग्नु पर्छ । अब एसएलसी परिक्षा वर्षो एक पटक होइन वर्षौ भरी सञ्चालन गरिनु पर्छ । हरेक दिन एसएलसी परिक्षा भएपछि त हरेक दिन लोडसेडिङ घट्यो नि हैन त -


No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका