संस्कार

Tuesday, April 27, 2010

“ए बाबु उठ कति सुतिरा’को -” सात बजेसम्म ओछ्यानमा सुतिरहेको छोरालाई आमाले चिच्याइन र तर छोरा उठेनन् ।
“बाबु । तलाई स्कुल जान पर्दैन” आमा चाठ्ठइन र तर छोरा सुतिरह्यो ।
“अब चाही पानी खन्याए है ।” आमाले अत्याइन ।
“……एकै छिन सुतौ भनेको दिएनन” छोराले अश्लिल शब्दको फोहोरा छुटाउँदै उठ्यो ।
“छि छि छि, हेर, बोलेको -” आमाले गाला चड्काइन ।
“…….. पिटेको -” छोराले फेरी अश्लिल शब्दले चिच्यायो ।
आमाले फेरी ठटाइन फुच्चैले फेरी अर्को अश्लिल शब्द बोल्यो । किन बोलिस भनेर फेरी ठटाइन उसले फेरी बोल्दियो । यसरी जति पटक ठटायो उति पटक उ झ झन बढी र कडा डोजको अश्लिल शब्द बोल्न थाल्यो ।
“बाबु गतिलो भए पो छोरा गतिलो होस” आमा भुत्भुताउन थालिन ।
“धत बाबु त्यस्तो नि बोल्ने हो ,” बाबुले सम्झाउन थाल्यो । “यस्तो नबोले कस्तो बोल्ने त -” छोराले प्रश्न गर्‍यो “यस्तो राम्रो संस्कारमा हुर्केको मान्छेले त्यस्तो फोहोरी कुरा गर्न हुँदैन । अब त्यसो नगर है” बाबुले छोरालाई सम्झायो । “अँ ठुला मान्छेले चाही बोल्न हुने हाम्ले चाही किन नहुने -” छोराले प्रश्न गर्‍यो ।
“को ठुला मान्छेले बोल्यो -” बाबुले सोधे । फुच्चे बोलेन । “तिम्ले बोल्यौ कि क्या हो -” फुच्चेकी आमाले ठुला ठुला आँखा पार्दै फुच्चेकी बाबुलाई सोधिन ।
“थोडी म तिम्रा बाबु हुँ र यस्तो जथाभावी बोल्नलाई म त फुच्चेको बाबु पो त” फुच्चेको बाबुले जंगिदै भन्यो।
“के रे केरे । अर्काको बाउलाई जे पायो त्यहि भन्ने हैन है, कैले बोले मेरा बाउले जथाभावी -” फुच्चेकी आमाले भनिन् ।
“तिमीलाई भगाएको बेलामा नि, आम्मामा… कम्ता भनेका हुन त्यो दिन बुढाले ।”
“तिमीले पनि बाँकी राखेका थियौ र त्यसबेला”
“तर त्यसपछि त मैले बोलेको छैन नि त त्यस्तो ।” फुच्चेको बाबुले भने ।
“आमा बाउले पनि त भनेका छैनन नी त्यसपछि ।” फुच्चेकी आमाले भनिन ।
“तर बाबुले कसरी सिक्यो यो, त्यतिबेलाको कुरा सुनेर त सिकेन ।” फुच्चेको बाबुले भने ।
“त्यही त टोलमा पनि त्यस्तो खराब संगत छैन । स्कुल पनि त्यस्तो ठुलाबडाहरु पढ्ने स्कुलमा पढाइएको छ ।”
“कतै स्कुले साथीहरु खराब छन कि क्या हो -” फुच्चेकी आमाले भनिन ।
“भन त बाबु तिम्रा साथीहरु को को छन्” फुच्चेको बाबुले फुच्चेलाई सोध्यो ।
फुच्चेले भन्यो- “सबै मन्त्रिका छोरा छोरी छन्”
“अनि तिम्ले कहाँबाट सिक्यौ यस्तो फोहोरी कुरा गर्न -” फुच्चेको बाबुले फेरी सोधे ।
“स्कुलबाट” फुच्चेले जबाफ दियो ।
“प्रिन्सिपल ज्यू ।” रिसले आगो भएर आएको फुच्चेको बाबुले प्रिन्सिपलको कोठामा पस्दै चिच्यायो । “के भो महासय । किन चिच्याउनु भएको -” प्रिन्सिपलले फुच्चेको बाबुलाई सोधे ।
“यहि सिकाउनलाई हो यत्रो पैसा तिरेर मैले मेरो छोरालाई तपाईको स्कुलमा पठाको -” फुच्चेको बाबुले भने ।
“के सिकेछ त्यस्तो -” प्रिन्सिपलले सोधे ।
“लौ सुन्नोस” फुच्चेको बाबुले फुच्चेले बोलेको अश्लिल शब्दहरुको टेप रेकर्ड लाउड भोलुम बनाएर प्रिन्सिपललाई सुनाइ दिए ।
टेप रेकर्ड सुनेर प्रिन्सिपल मरि मरी हाँस्यो ।
“ओ प्रिन्सिपलज्यू पागल हुनु भो कि क्या हो -” रिसाएको फुच्चेको बाबुले उसको हाँसो सुनेर झन रिसाउँदै भन्यो ।
“जे होस तपैंको छोराले अब गरीखाला जस्तो छ ।” प्रिन्सिपलले खितखिताउँदै भन्यो ।
प्रिन्सिपलले उल्टै गिल्ला गरेको सुनेर फुच्चेको बाबु रिसले झनै भुटुक्कै भयो र भन्यो- “ओ प्रिन्सिपल तिमले कहिल्यै कुर्टाई भेटेका छैनौ कि क्या हो -”
“के काम गरेको छु र मैले कुटाइ नै खानु पर्ने -” प्रिन्सिपलले भन्यो ।
“फुच्चेले कसरी सिक्यो यस्तो कुरा -” फुच्चेको बाबुले प्रिन्सिपललाई सोध्यो ।
“हामीले सिकायौ, अनि सिक्यो” प्रिन्सिपलले सजिलैसँग भनि दियो ।
“तिमीलाई चड्कन लाइदिउ कि क्या हो – छोराले उच्च संस्कार सिकोस भनेर यत्रो पैसा तिरेर महंगो स्कुलाँ भर्ना गरेको त यस्तो अश्लिल कुरा सिकाएर पठाउने -” फुच्चेको बाबु रन्कियो ।
“यो उच्च संस्कार नै हो महासय ।” प्रिन्सिपलले भन्यो ।
“बहुलायौ कि क्या हो -” फुच्चेको बाबुले भन्यो- “पागलखाना पुर्‍याइदिऊ -”
“भयो पर्दैन बरु आफै गए हुन्छ । पागल बरु तपाई हुनुहुँदो रहेछ । हामी तपाईको बच्चालाई यति उच्च संस्कार सिकाई रहेको छौ कि त्यो मन्त्रि बन्नका लागि काम लाग्ने छ । यहि संस्कार सिकाउन हामीले मन्त्रिका छोरा छोरीको संगतमा तपैका बच्चाहरुलाई राखेका छौ ।” प्रिन्सिपलले भन्यो ।
“ओ भाते । तैले कसरी सिकाइस मन्त्रिका सरह उच्च संस्कार – जबकी फुच्चे यस्तो अश्लिल बोलिरहेको छ । मान्छेको बोलिमा उसको संस्कार झल्किन्छ हो कि होइन ।” फुच्चेको बाबुले भन्यो ।
“हो महासय । त्यसैले हामीले तपाइको बच्चालाई अश्लिल कुरा सिकाउदै छौ किनकि अहिले एक पछि अर्का मन्त्रिहरु अश्लिल कुरा गर्दै चर्चित हुन थालेका छन् ।” प्रिन्सिपलले प्रष्ट पार्‍यो ।
(publish in bishwadeep saptahik)
Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका