योगासन

Wednesday, April 7, 2010

योगगुरु स्वामी रामदेव महाराजको आगमनसगै केही दिन यता काठमाडौं योगमय भएको छ । बृद्धदेखि बालकसम्म अनि तरुण तन्नेरीहरु समेत कपालभाती र अनुलोम-विलोममा आफ्ना थुप्रै समय व्यस्त गर्न थालेका छन् । घरदेखि अफिससम्म, बाटो देखि सयनकक्षसम्म अनि किचनदेखि पाइखानासम्म जताततै मानिसहरु योग अभ्यास गरिरहेका छन् । स्वामी रामदेवज्यूले भन्नुभए अनुसार सबै रोगको उपचार योग मान्दै आफ्ना रोगहरुलाई अन्त्य गर्न सबै योग साधनामा लागेका छन् ।
उपचार र स्वास्थ्यका दृष्टिले यो योग भन्ने कुरा गज्जप कै रै’छ । अब तपैले योग गर्न थाल्नु भो भने टाउको दुखेको, पेट दुखेको गानो गोला ग्याष्टिक चेट हुने रै’छ । जन्डिस भयो भने उखु खानु नपर्ने योग गर्‍यो चेट हुने । पखाला लाग्यो भने जिवनजल खान नपर्ने न त ट्वाइलेट जानु पर्ने योगका एक दुइ आसन लाइदियो चेट । लुतो आयो कन्याउन नपर्ने योग गर्‍यो चेट । सबै रोगको उपचार योगले नै हुने भएपछि हाम्रा नेताज्यूहरु पनि के पछि पर्थे यसमा । त्यसैले आफ्ना रोगहरु निर्मूल पार्न उहा“हरु पनि योग साधनामा लिन हुनुहुन्छ ।
स्वामी रामदेवले गराउने पराम्परागत योग अभ्यासले भने हाम्रा नेताज्यूहरु सन्तुष्ट हुनु भएन । हुनु पनि त कसरी – आखिर नयाँ नेपालका नेताहरु परे ।
पद्मासन, बज्रासन, हलासन, वृक्षासन जस्ता परम्परागत योगासनहरुले कसरी साफ पार्न सक्थ्यो नयाँ नेपालका नेताहरुको प्रोब्लम -
“हलोउ । ए रामदेव गुरु” योगसाधनामा लिन भइरहेका एक नेताज्यूले आखा खोल्दै योग गराउनमा लिन भएका स्वामी रामदेवको ध्यान भंग गराउँदै भन्नुभयो- “कति गर्नु यो झुर योग अभ्यास, अलि जोसिलो कुनै आसन छैन – यो आसन त लास्टै झुर लाग्यो त हौ ।” “कस्तो जोसिलो आसन बालक -” स्वामी रामदेवबाट आज्ञा भयो “त्यस्तो आसन जसबाट मनमा उमंग छाओस अनि शान्ति र सफलता मिलोस । अर्का नेताज्यूले भन्नु भयो ।
“योगले अवश्य शान्ति मिल्छ, तर तिमले एक चित्त भई योग साधनामा लिन हुनु पर्‍यो ।” स्वामी रामदेवले भन्नुभयो ।
“चित्त लगाई योग गर्न मनले खाएको योग हुन पर्‍यो नी थोडी योगी- जोगी बन्न आएका हौ र हामी, शान्ति हुनु पर्‍या छैन मनमा बरु हामीलाई नेताले गर्ने योग सिकाइ दिनु पर्‍यो । नेतालाई फाइदा हुने योग सिकाइ दिनु पर्‍यो ।” अर्का एक नेताज्यूले भन्नु भयो ।
“योग नेताले गरुन या जनताले गरुन सबै एकै किसिमका हुन बालक” स्वामी रामदेवले भन्नुभयो । “जनताले गर्ने योग गरेर । हामीलाई के काम -” अर्का नेताज्यूले भन्नु भयो “नेतालाई त तपाइले त्यस्तो योग सिकाउनु पर्‍यो जसको योगफल सधै सरकार नै होस् ।”
“हो ह्वाले एकदम ठिक भन्नु भयो” सबैले एकै स्वरमा भने- “ह्वाले कुरा एकदम मनासिव गर्नुभयो ।”
यसरी एक नेताको कुरामा ठ्याक्कै अरु नेताहरु पनि सहमत भएको दर्ुलभ अवस्था देखेर स्वामी रामदेव दंगदास हुनु भयो र भन्नु भयो-” योगफल सरकार हुने योग के हो बालक -”
“टिकासन” सरकारमा भइरहेका नेताज्यूले भन्नुभयो “टिकासनको योगफल सधै सरकार हुन्छ योगी महाराज त्यसैले हामीलाई टिकासन सिकाइदिनु पर्‍यो ।”
“टिकासनको योगफल सधै कसरी सरकार हुन्छ -” स्वामी रामदेवले सोध्नु भयो ।
नेताज्यूले भन्नुभयो- “टिकासनले सधैभरी सरकारमा टिकी राख्न सिकाउ“छ ।”
“हैन हैन स्वामीज्यू, हजुरले ढलासन सिकाइ दिनु तिनलाई अनि हाम्लाई सत्तासन सिकाउनु पर्‍यो, तिनको ढलासन नभइ कन हाम्रो सत्तासन सम्भव भएन” प्रतिपक्षि नेताज्यूले भन्नु भयो ।
ढलासनको कुरा सुन्नासाथ सत्तासन गरिरहेका नेताज्यू जंगिनु भयो र भन्नुभयो- “हैन हैन स्वामीज्यू यिनीहरु षड्यन्त्र गर्न खोज्दै छन् । ढलासन भन्दै यिनीहरु कब्जा-सन गर्न खोज्दै छन् ।”
“कब्जासन रे -” स्वामी रामदेव कुरा नबुझेर वाल्ल पर्नु भयो र भन्नु भयो – “हैन के हो यो कब्जासन -”
“कब्जासन भनेको त्यो आसन हो जुन सत्ता कब्जा गर्नका लागि गरिन्छ । यिनीहरु त्यहि गर्न खोज्दै छन् स्वामीज्यू । “सत्तासन गरिरहेका नेताज्यूले पोल खोल्नु भयो ।
“हैन हैन रामदेव स्वामीज्यू । यिनीहरु बिल्कुलै झुटासन गरिरहेका छन् ।” प्रतिपक्षि नेताज्यूले भन्नु भयो ।
“हैन स्वामीज्यू हामी सच्चासन नै गरिरहेका छौ ।” सरकारमा रहेका नेताज्यू ले भन्नु भयो ।
“इस । झुटासन हो त्यो ।”
“हैन सच्चासन हो यो ।”
“स्वामीज्यू ।” प्रतिपक्षी नेता रिसले आगो भए र भने- “तपाई चडकनासन गर्न सिकाइ दिनोस । मलाई चड्कनासन गर्न मन लाग्यो ।”
सत्तासन गरिरहेका नेताज्यूले भन्नु भयो- “यिनीहरु शान्ति प्रकृयामा आएर पनि चड्कनासन को को कुरा गर्दैछन् । यिनीहरुले अझै लोकतन्त्रासन गर्न सकिरहेका छैनन् ।”
यस्तैमा केही मनुवा प्रतिगमनासन सिकाइदे भन्दै आइपुग्यो नेताज्यूहरु आत्तिएर फेरी मेल मिलासनमा बस्न बाध्य हुनु भयो ।
तैपनि नेताज्यूहरुले तिनसय एकासन सिकाइ दिन स्वामी रामदेवस“ग अनुरोध गरी नै रहनु भयो । तीनसय एकासनस“गै धेरै योगआसन र अरु कुराहरु आए । पैला तीनसय एक जुटाउन जुटासन गर्नु पर्‍यो । त्यसको लागि पार्टीफुटासन गर्न पर्‍यो । पार्टीफुटासन हुन नसक्दा खण्डिकरण पनि गर्न पर्‍यो । सहमती खोज्न एल.सि.एफ. र एम.सि.एफ. निकाल्न पर्‍यो । यसरी योग सिविर भित्र गणितको कुरा उठ्न थाले पछि स्वामी रामदेवले टाउको कन्याउन थाल्नु भो- “हैन यिनीहरु मस“ग योग सिक्न चाहन्छन कि पुरै गणित ?”

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका