त्रिदेव र सहमति भजन

Saturday, January 15, 2011

‘सहमति सहमति सहमति’ हाम्रा राजेनताहरुले भजन गाउनु भएको धेरै समय भइसकेको छ । सहमतिको भजन गाउँदा अगाडि राष्ट्रिय जोडेर धेरै नेता राष्ट्र्वादी भएका छन् । जुनसुकै विचारधारा अंगालेका राजनीतिक दलहरुको लागि पनि सहमति भजन साझा भजन हुन पुगेको छ । हाम्रा कवि व्याकुल माइलाज्यूको ‘सयौ थुगा फूलका हामी’ गीत राष्ट्रिय गीत भए जस्तै सहमतिको एक शाब्दिक भजन विस्तारै राष्ट्रिय भजनको रुपमा स्थापित हुदै गएको छ । झलनाथदेखि खलनाथसम्म पर्चण्डदेखि उदण्डसम्म अनि सुशिलदेखि झुसिलसम्म नेताहरुको सुमधुर स्वरहरुमा लगातार गुन्जिरहने कर्णप्रीय सहमति भजनले जगजित सिंहको ‘तुम अन्तरयामी सबका स्वामी.. तेरे चरणो मं चार धाम.. हे राम हे राम’ र हाम्रा भजन सम्राट भक्तराज आचार्यज्यूको ‘एकदिन मैले प्रभुकन सोधे…’ जस्ता चर्चित भजनहरुलाई समेत फ्लप ख्वाइ दिएको छ । गायक जगजीत सिंह र भक्तराज आचार्यका भजनहरु त मान्छेले भगवानका लागि गाइएका भजन हुन । तर हामीले सुन्ने अहिलेको चर्चिर्त सहमति भजन त भगवानहरुले हामी मान्छेका लागि गाइदिएका भजन हुन । हाम्रा त्रिदेवका रुपमा रहेका प्रचण्ड, झलनाथ र सुशिल प्रभुहरु हाम्रो देशमा ब्रम्हा, विष्णु र महेश्वरको रुपमा विराजमान हुनु भएको छ । यस्ता देवाधीदेवहरुले गाउनु भएको सहमति भजन हाम्रा निम्ति किन कर्णप्रीय नहोस् -
सहमति भजनको लोकप्रियतासगै यसले र्सवव्यापकता पाउदैछ । सरकारी र राष्ट्रिय राजनीतिमा मात्र नभई यसले जनस्तरमा र पार्टी तहमा समेत स्थान जमाएको छ । भजनको लोकप्रियता र भजन गाउने र सुनाउने सिलसिलामा यहा थुप्रै भजन मण्डलीहरु देखिन थालेका छन् । अझै भन्ने हो भने सबै पार्टी भजन मण्डलीमा परिणत भएका छन् र ती पार्टीभित्र विवादका उर्बर भुमिमा ब्रम्हा, विष्णु र महेश्वरका हैसियत राख्ने त्रिदेवहरु उत्पन्न भएका छन् र तिनै त्रिदेवहरुले आफ्ना जादुगरी भाकामा चमत्कारी सहमति भजन गाइरहेका छन् ।
अब ठूलो पार्टी माओवादीकै कुरा गरौ आफ्ना आफ्ना दस्तावेज बोकेर प्रचण्ड, बैद्य र भट्टर्राई नामधारी त्रिदेवहरु ब्रम्हा, विष्णु र महेश्वरको हैसियतमा प्रकट भएका छन् र आफूहरुबीचका विवादका बीच सहमतिको भजन गाइरहेका छन् । यिनै त्रिदेवहरुका मुनि अर्का त्रिदेवहरु उत्पन्न भएका छन् र तिनै त्रिदेव मुनि अर्का अर्का त्रिदेव उत्पन्न भएका छन् । त्यो कार्यकर्ता तहसम्म पुगेको छ र कार्यकर्ता तहमै पनि त्यस्तै त्रिदेवहरु उत्पन्न भएका छन् र सहमतिकै भजन गाएका छन् ।
अब दोस्रो ठूलो पार्टी कांग्रेसको कुरा गरौं । कांग्रेसमा सुशिल, पौडेल र देउवा त्रिदेवका रुपमा ब्रम्हा, विष्णु र महेश्वरको हैसियतमा छन् । पद र शक्ति बाँडफाँड विवादको गाइजात्रे किचलो माझ त्रिदेवहरु सहमतिको भजन गाउनमा व्यस्त हुनुहुन्छ । अनि यी त्रिदेव मुनि पनि केन्द्रीय स्तरमा जिल्लास्तरमा अनि स्थानीय स्तरमा त्रिदेवहरु जन्मिएका छन् र लगातार सहमति भजन गाइरहेका छन् ।
एमालेभित्र खनाल, नेपाल र ओलीहरु त्रिदेवका रुपमा ब्रम्हा, विष्णु र महेश्वरका हैसियतमा प्रकट भएका छन् र सहमतिका भजन गाउदै छन् । त्यसबाट मुनि पनि थुप्रै त्रिदेव कार्यकर्ता तहसम्म प्रकट भएका छन् र सहमति भजन गाउदै छन् । यसरी माथिदेखि तलसम्म अचेल त्रिदेवहरु प्रकट हुन थालेका छन् । जति जति र जहाँ जहाँ त्रिदेवहरु प्रकट भएका छ्न त्यति त्यति र त्यहाँ त्यहाँ सहमतिको भजन गाइदै छ र सहमतिको सुरिलो धुन गुम्जदै छ ।

No comments:

 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका