कुर्सी प्रियाको पत्र

Thursday, November 11, 2010

प्रिय भन्दा प्रिय नेताहरु,

न्यानो माया, अगाध स्नेह, स्वादिलो सम्झना र प्रगाढ प्रेम ।

                मलाई थाहा छ तिमीहरु मलाई नै सम्झीरहेका छौ । किनभने तिमीहरुको गिदीमा मेरो सम्झना यसरी घुलेको छ कि राष्ट्रप्रेम र जनताप्रतिको कुनै पनि दायित्व बोधले यसलाई फिल्टर गर्न सक्दैन । र संसारमा कुनै पनि यस्तो रसायन छैन जसले मेरो सम्झना र तिमीहरुको मप्रतिको प्रेम, स्नेह र र्समर्पणलाई निस्त्रिmय गर्न सकोस् । तिमीहरु स्वभावैले र जन्मैदेखि मलाई प्रेम गर्ने गुण लिएर जन्मेका छौ । यस्तो लाग्छ तिमीहरुका रगतका कणकणमा म छु । तिमीहरुका अंगअंगमा म छु । त्यसैले होला तिमीहरु म प्रति आसक्त छौ । यहि आसक्तिले तिमीहरु मलाई असाध्यै प्रेम गर्र्छौ र यहि प्रेमका खातिर तिमीहरु सान, मान र इज्जत सबै त्याग्न तयार छौ । तिमीहरुको यहि चोखो र पवित्र प्रेमले गर्दा म तिमीहरुप्रति असाध्यै खुसी छु । तर तिमीहरु आफ्नो यति हदसम्म प्रेम गर्दा पनि मलाई नपाउनुको पिडामा असाध्यै दुखि होलाउ । के गर्नु प्रेममा संधै खुसी त कहाँ मिल्छ र – तर जे होस, म पनि तिमीहरुलाई असाध्यै प्रेम गर्छु जस्तो तिमीहरु मलाई गर्र्छौ ।

नेता स्वीटहार्ट,
तिमीहरुले मलाई नपाउँदाको पिडामा कतिसम्म रन्थनिएका छौ होला भन्ने सम्झनाले पनि मलाई काँडा उम्रिएर आउँछ । प्रेम पिडामा भट्मा बोतल र गिलास रित्याउदै बित्ने गरेका तिमीहरुका साँझहरु सम्झेर त्यसै त्यसै बिरक्त लागेर आउँछ । तर मेरो अपूर्णतालाई बोतलका झोलहरुले के पूर्णता दिन सक्थ्यो र – यदा कदा मेरो यादमा कतै भट्टाल्नी साउनीको हात पो समायौ कि भन्ने आशंकाले सिरिङ भएर आउँछ । तैपनि मलाई तिमीहरुप्रति पूर्ण विश्वास छ कि तिमीहरु मलाई भुलेर कहि पनि बहकिन सक्दैनौ किनकि मेरो मायाको डोरीमा तिमीहरु यसरी बाँधिएका छौ कि एउटा टाँगामा बाँधिएका घोडाहरु जस्तै तिमीहरु यताउता कतै भाग्न सक्दैनो । तिमीहरुका एकोहोरो यात्रा मै तर्फ केन्द्रित हुनेछ र तिमीहरुका अन्तिम गन्तव्य मनै हुनेछु ।

नेता डार्लिंग,

म सुन्दैछु तिमीहरु मलाई पाउन देउता भाक्दै छौ रे । मलाई माग्दै प्रुभलाई प्रार्थना गरेका छौ रे । यसैक्रममा तिमीहरुले दिल्ली, वासिंगटन, सिंगापुर र बेइजिङसम्म पनि तिर्थाटन गर्न पुग्यौं रे । तर के गर्नु जता गए पनि हात लागि सुन्य । यदाकदा शंका लाग्छ कतै प्रभुहरुले नै मेरो जवानीमा आँखा गाडे की क्या हो कलियुगका प्रभुहरुको त भर हुन्न है ।

नेता हनी,
तिमीहरु मध्ये त्यो बाघका जस्ता बाक्लो र खाइलाग्दे जुंगा भएको मेरो प्रेमी बढो रोमान्टिक थियो । मलाई पनि उ खुब मनपर्छ तर के गर्नु अनायासै उसँग ब्रेक अप भयो मलाई निसारो चित्त दुख्याथ्यो त्यस बेला । उ बढो झोकी रै छ । प्रभुलाई पनि सराप्यो त्यति बेला । हुन पनि हो आफ्नो प्रार्थना नसुन्ने प्रुभ के प्रभु – उ ढुंगा भन्दा के फरक भयो र – उसलाई ट्वाइलेट र नालीमै बिच्छ्याई दिए पनि के भयो र मलाई पाउन फिलमकी हिरोइन समेत नचाउने मेरो प्रेमी एउटा हिरो भन्दा कम्ति थिएन । मेरो प्यारा तिम्रा अंगालोमा बाँधिएका ती क्षणहरु समझनाले मलाई अझै पनि न्यानो बनाइरहेको छ । आखिर संसदमा जन्ति नपुग्दा तिमीसँग फेरि मेरो लगनगाँठो बाधिन सकेन र डोलीमा चढिसकेका तिमी ओर्लियो । अर्का मेरा बाहुन प्रेमी त्यति रोमान्टिक हुन नसके पनि म प्रति उसको प्रगाढ प्रेम देखेर मलाई उसको सारै माया लाग्छ । डोलीमा चढेको उसग जन्ति नपुग्दा मेरो लगनगाढो बाधिन पाएको छैन । जन्त जाने प्राय जन्तिहरु मेरा प्रेमी भएको हुनाले उसले मेरो सिउदो भरेको कसरी हेरुन र जन्ति आउन – प्रिय बाहुन, तिमीलाई तिनले १५ पटक डोलीबाट उचाल्दै पछार्दै गर्दा तिमीलाई कति दुख्यो होला – सम्झदा पनि मन भकानिएर आउँछ । तर तिम्रो प्रेम महान छ प्रिय यति हुदा पनि ओर्लिएका छैनौ डोलीबाट । झल्लु नामका मेरा अर्का प्रेमी सारै बेबकुफ रै छन् । डोली चढिसकेका उनी जन्ति पुग्दा पुग्दै पनि काउकुती लाग्यो भन्दे झरे । दारी जुगा सफाचेट गरेर सधै सुट पाइन्टमा सजिने झल्लु प्रेमी निकै चकलेटी थिए । अब बुद्धि नपुगेपछि के लाग्यो र – अस्ति मलाई एसएमएस पठाउदै थियो- “तिमी बिना मर्न लागे प्रिय” भनेर मुख झल्लु अब तिमीले मलाई पाउने आसै नगर भनेर भन्दिम भन्दिम जस्तो लागि रा छ तर कहाँ सक्थे र – मलाई थाहा छ नि । तिमीलाई डोलीमा चढ्दा काउकुति लगाइदिने तिम्रै घरको त्यो पुतली जुंगे बदमास थियो ।

नेता बाबे,
पुतली जुंगेसँग मेरो पारपाचुके भएको चार महिना बढि भइसक्यो । तै पनि उ मसँगै छ । मेरो मन तिमीहरुसँग भए पनि मेरो तन चाहि त्यहि पुतली जुंगेसँग छ । सारै बदमास छ त्यो पुतली जुंगे । पहिले पारपाचुकेको पिरमा ह्वास्स मुख गनाउने बनाएर आउथ्यो । अहिले मख्ख छ । मप्रति सारै क्रेजी छ । के मात्रै गरेन उसले मलाई पाउन – मान्छे ज्याद्रो रै छ । आखिर पाएरै छाड्यो उसले मलाई तर तिमीहरुको बियोगमा उसले खुच्चिङ खुच्चिङ गरेकाले मलाई त्यो देखि सारै रिस उठेको छ ।

प्रिय नेताहरु,
मेरो पिरले तिमीहरु जति तडपिएका छौ त्रि्रा पिरले म त्यति तडपेकी छु । भाग्य नै त्यस्तै होकि क्या हो त्यता तिमीहरु एक्लै यता म एक्लै तर विचार गर है २०६३ साल अघिको मेरो पूव प्रेमीले अस्ति मलाई आँखा झिम्क्याउदै थियो ।

अहिलेलाई यति नै ।

उहि तिमीहर्की
कुर्सी प्रिया ।
Post a Comment
 

केही भन्नु छ ?

Name

Email *

Message *

चिर्बिराहट

धेरै पढिएका